काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई इन्धनको मूल्य बढेपछि आन्तरिक हवाई उडानको नयाँ भाडादर लागू गरेको छ । प्राधिकरणका अनुसार नयाँ भाडादर २०८३ साउन १९ गते ९४ अगस्ट २०२६० देखि लागू भएको हो ।
नेपाल आयल निगमले २ अगस्ट २०२६ देखि हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ बढाएपछि प्राधिकरणले इन्धन शुल्कका आधारमा हवाई भाडा पुनः निर्धारण गरेको हो । नयाँ व्यवस्थाअनुसार हवाई इन्धनको मूल्य प्रतिलिटर २२९ रुपैयाँबाट बढेर २४९ रुपैयाँ पुगेको छ, जुन ८।७३ प्रतिशतले बढी हो ।
प्राधिकरणले ट्रंक सेक्टरका लागि प्रतियात्रु प्रतिमिनेट इन्धन शुल्क १३२.४५ रुपैयाँ कायम गरेको छ । सोही आधारमा विभिन्न गन्तव्यका हवाई भाडा पनि बढाइएको छ ।
नयाँ भाडादरअनुसार काठमाडौं–माउन्टेन क्षेत्रको भाडा ७ हजार ८६० रुपैयाँबाट बढेर ८ हजार ५४५ रुपैयाँ पुगेको छ । काठमाडौं–भद्रपुरको भाडा ६ हजार ८७५ रुपैयाँबाट ७ हजार ४८० रुपैयाँ, काठमाडौं–विराटनगरको ५ हजार ५०० रुपैयाँबाट ५ हजार ९८० रुपैयाँ, काठमाडौं–जनकपुरको २ हजार ९४५ रुपैयाँबाट ३ हजार २०५ रुपैयाँ तथा काठमाडौं–पोखराको ३ हजार ६३५ रुपैयाँबाट ३ हजार ९५० रुपैयाँ पुगेको छ ।
यस्तै, काठमाडौं–भैरहवाको भाडा ४ हजार ७१५ रुपैयाँबाट ५ हजार १२५ रुपैयाँ, काठमाडौं–नेपालगन्जको ७ हजार ४६५ रुपैयाँबाट ८ हजार १२० रुपैयाँ, काठमाडौं–धनगढीको १० हजार १२० रुपैयाँबाट ११ हजार रुपैयाँ तथा काठमाडौं–सुर्खेतको ७ हजार ९१५ रुपैयाँबाट ८ हजार ६०५ रुपैयाँ कायम गरिएको छ ।
दुर्गम तथा छोटो दूरीका (एसटीओएल) उडानमा पनि इन्धन शुल्क बढाइएको छ। प्राधिकरणले एसटीओएल उडानका लागि प्रतियात्रु प्रतिमिनेट इन्धन शुल्क ९४.६२ रुपैयाँ निर्धारण गरेको छ । यो दर प्रतिलिटर २४९ रुपैयाँ इन्धन मूल्य, प्रतिउडान १५ जना यात्रु र प्रतिघण्टा ३४२ लिटर इन्धन खपतका आधारमा तय गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार संशोधित इन्धन शुल्क र हवाई भाडादर ४ अगस्ट २०२६ देखि लागू भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया