काठमाडौं । पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले केही समयदेखि बन्द रहेको राहदानीको अनलाइन आवेदन प्रणाली पुनः सञ्चालनमा ल्याएको छ ।
नयाँ राहदानी प्रणालीमा परिवर्तन गर्ने प्रयोजनका लागि बन्द गरिएको आवेदन प्रणालीको स्थापना कार्य सम्पन्न भएसँगै राहदानी आवेदन प्रक्रिया पुनः सुरु गरिएको दूतावासले जनाएको हो ।
दूतावासले राहदानी नवीकरण गर्नुपर्ने इच्छुक नेपाली नागरिकलाई अनलाइनमार्फत आवेदन फाराम भर्न अनुरोध गरेको छ । राहदानीको म्याद सकिन एक वर्ष बाँकी रहेका आवेदकले अनलाइन फाराम भरी त्यसको प्रिन्टआउट, सक्कल राहदानी, नेपाली नागरिकताको प्रमाणपत्र तथा प्रतिलिपिसहित तोकिएको समय र मितिमा बायोमेट्रिक्सका लागि दूतावासको कार्यालयमा उपस्थित हुनुपर्नेछ ।
नाबालकको हकमा नाबालक परिचयपत्र, जन्मदर्ता प्रमाणपत्र, बाबु र आमाको नागरिकता प्रमाणपत्र तथा राहदानी र विवाह दर्ता प्रमाणपत्रसमेत पेश गर्नुपर्ने दूतावासले जनाएको छ ।
राहदानीको अनलाइन आवेदन नेपाल राहदानी अनलाइन आवेदन प्रणालीमार्फत गर्न सकिनेछ। राहदानी आवेदनसम्बन्धी थप जानकारी दूतावासको वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ ।
दूतावासका अनुसार कन्सुलर सेवा कार्यालय खुलेका दिन बिहान ९ः१५ बजेदेखि दिउँसो १ः१५ बजेसम्म उपलब्ध हुनेछ भने राहदानी वितरण तथा राहदानीसम्बन्धी जानकारी लिन दिउँसो २ बजेपछि सम्पर्क गर्न सकिनेछ ।
दूतावाससँग इमेल [email protected] वा टेलिफोन २१३०११३०८ मा सम्पर्क गर्न सकिनेछ। दूतावासको कार्यालय लिस्बनस्थित Rua Pero de Alenquer 29, 1400-293 मा रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया