विश्व बजारमा चिनियाँ ईभी आक्रामक, जुलाईमा कसले कति बिक्री गरे ?

लोकपथ
56
Shares

काठमाडौं । नयाँ ऊर्जा सवारी (एनईभी) बिक्रीतर्फ जुलाई महिनामा पनि बीवाइडीले आफ्नो अग्रता कायम राखेको छ । यता, लिपमोटरले पहिलोपटक एकै महिनामा एक लाखभन्दा बढी सवारी बिक्री गर्दै नयाँ कीर्तिमान बनाएको छ ।

बीवाइडीले जुलाईमा ४ लाख ११ हजार ७२ वटा यात्रुवाहक सवारी बिक्री गर्दै लगातार तेस्रो महिनासम्म बिक्री वृद्धि कायम राखेको कम्पनीले जनाएको छ । कम्पनीले विदेशी बजारमा पनि करिब १ लाख ८० हजार सवारी बिक्री गर्दै हालसम्मकै उच्च निर्यात रेकर्ड बनाएको छ ।

जुलाईमा लिपमोटरले १ लाख १ हजार २६७ वटा सवारी बिक्री गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०२ प्रतिशतले बढी हो । कम्पनीले पहिलोपटक मासिक बिक्री एक लाख नाघ्दै चीनको ईभी बजारमा आफ्नो उपस्थिति थप बलियो बनाएको छ ।

यस उपलब्धिसँगै लिपमोटरले जुलाईमा ९६ हजार ५०० वटा नयाँ ऊर्जा सवारी बिक्री गरेको चांगानलाई उछिनेको छ । लिपमोटरको बिक्री जिली ग्यालेक्सीको १ लाख ७ हजार ७९७ युनिटसँग पनि निकै नजिक पुगेको छ ।

मार्चमा सार्वजनिक गरिएको लिपमोटरको बी१० एक्स (अन्तर्राष्ट्रिय बजारमा बी०३ एक्स) मोडलको मात्रै जुलाईमा २८ हजार ५९३ वटा सवारी ग्राहकलाई हस्तान्तरण गरिएको छ। यो कम्पनीको कुल मासिक बिक्रीको करिब ३० प्रतिशत हो ।

अन्य कम्पनीहरूको प्रदर्शन पनि सकारात्मक देखिएको छ। निओले जुलाईमा ३५ हजार ९३४ वटा सवारी बिक्री गर्दै अघिल्लो वर्षको तुलनामा ७१ प्रतिशत वृद्धि हासिल गरेको छ । निओअन्तर्गत निओ, ओनभो र फायरफ्लाई ब्रान्डका सवारी बिक्री भएका हुन् ।

यस्तै, ली अटोले ३० हजार ४६८ वटा सवारी बिक्री गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ०.९ प्रतिशतले कम हो ।

साओमीले जुलाईमा ३० हजारभन्दा बढी सवारी ग्राहकलाई हस्तान्तरण गरेको जनाएको छ भने हुवावेको हार्मोनी इन्टेलिजेन्ट मोबिलिटी एलायन्स (एचआईएमए) अन्तर्गत ४५ हजार ४६ वटा सवारी बिक्री भएका छन् ।

हुवावे र चेरीको साझेदारीमा उत्पादन हुने लक्सिड ब्रान्डले १० हजार ७०९ वटा सवारी बिक्री गर्दै अघिल्लो वर्षको तुलनामा २२७.७ प्रतिशतको उल्लेखनीय वृद्धि दर्ता गरेको छ ।

जुलाईको बिक्री विवरणले चीनको विद्युतीय सवारी बजारमा प्रतिस्पर्धा थप चर्किंदै गएको संकेत गरेको छ । बीवाइडीले बजार नेतृत्व कायम राखिरहँदा लिपमोटर तीव्र गतिमा उक्लँदै प्रमुख प्रतिस्पर्धीका रूपमा स्थापित हुँदै गएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?