काठमाडौं । नेपाली कांग्रेसले देशभरबाट आएको महाधिवेशन प्रतिनिधिहरुको एक दिनको खर्च पार्टीले नै व्यहोर्ने भएको छ ।
तोकेको दिन महाधिवेशन सम्पन्न नभइ थप एक दिन थपिएपछि कांग्रेसले एक दिनको खर्च व्यहोर्ने भएको हो ।
असोज १८ गतेबाट सुरु भएको कांग्रेस महाधिवेशन आज असोज २२ गते मतदान गर्ने भनिएको थियो । तर मतपत्र ढिला छपाईपछि आज मतदान हुन नसक्दा भोलिसम्मका लागि मतदानको समय लम्बाइएको छ । त्यसले कार्यकर्तामा पर्न सक्ने आर्थिक बोझलाई मध्यनजर गर्दै भोलि (शुक्रबार) एक दिनको खाना र आवासको व्यवस्था पार्टीले नै गर्ने कांग्रेसको आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार महाधिवेशन प्रतिनिधिको शुक्रबारको होटल बसाई खर्च र खाना खर्च पार्टीले नै बेहोर्नेछ ।
त्यसो त यो पटक कांग्रेसले खानाको व्यवस्था गरे पनि आवासको हकमा भने कार्यकर्ताहरु आफैँले व्यवस्थापन गर्नुपर्ने भनेको थियो । तर अप्ठेरो पर्ने कार्यकर्ताहरुका लागि भने पार्टीले नै खर्च बेहोर्ने बताइएको थियो ।
निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठका अनुसार कांग्रेसको १५औँ महाधिवेशन इतिहासमै सस्तो महाधिवेशन भएको दाबी गरेका छन् । अन्य व्यक्तिहरुसँग चन्दा समेत नउठाइ महाधिवेशन प्रतिनिधिहरुबाट उठाइएको र पार्टी कोषमा रहेको रकमबाटै खर्च धानिएको उनको दाबी छ । अन्य महाधिवेशन भन्दा सस्तो महाधिवेशन भएको उनको दाबी छ ।
‘यो कांग्रेसको इतिहासमै सबैभन्दा सस्तो महाधिवेशन भयो । मलाई लाग्छ अन्य महाधिवेशन भन्दा यो महाधिवेशन खर्चका हिसावले ४० प्रतिशत सस्तो भयो,’ उनले भने ।
भोलि बिहान ७ बजेबाट मात्रै मतदान
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदान शुक्रबार बिहानदेखि मात्रै शुरू हुने भएको छ ।
खराब मौसम र प्राविधिक कारणसँगै ढिला मतदान शुरू गर्दा रातिमा मतदातालाई कठिन हुने भएकाले शुक्रबार बिहान ७ बजेदेखि मात्रै मतदान थालिने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले मिडिया ब्रिफिङमा जानकारी दिए ।
उनले उम्मेदवार र मतदाता धेरै भएका कारण मतपत्र छपाइमा ढिलाई भएकाले शुक्रबार बिहान ७ देखि दिउँसो ३ बजेसम्म मतदान हुने बताए । महाधिवेशन प्रतिनिधिको संख्या ७ हजार ३ सय १७ रहेको पनि सदस्य सचिव कटुवालले बताए ।
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले आवश्यक तयारी सबै सकिएको तर साँझमा मतदान शुरू गर्दा रातभर मतदातालाई अप्ठेरो पर्ने भएकाले त्यसलाई मध्यनजर गर्दै शुक्रबार बिहानदेखि नै थालिने बताए ।
उनले मतपत्र धेरै भएकाले आफूसँगै ३२ जना वरिष्ठ अधिवक्ताहरूले मतपत्रमा हस्ताक्षर गरिरहेको बताए ।
निर्वाचन समितिका सदस्यसचिव कटुवालका अनुसार २९७ पदको निर्वाचनका लागि ८५० जनाको उम्मेदवारी परेको छ । त्यसका लागि २ लाख हाराहारीमा मतपत्र छापिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया