काठमाडौं । नेपाली विद्युतीय सवारी बजारमा अर्को प्रिमियम विकल्प थपिएको छ । अत्याधुनिक प्रविधि र स्मार्ट फिचरसहितको लिपमोटर बी ०३ एक्स नेपाल आइपुगेको छ ।
नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्सले बी ०३ एक्सलाई छिट्टै विशेष कार्यक्रममार्फत औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।
सोही कार्यक्रमपछि गाडीको बुकिङ पनि खुला गरिने कम्पनीले जानकारी दिएको छ । कार्यक्रममा सहभागीहरूले नयाँ ईभीलाई पहिलोपटक प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् ।
कम्पनीका अनुसार नेपाली सडक र प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखेर ल्याइएको बी ०३ एक्समा १४५ किलोवाटको इलेक्ट्रिक मोटर र ५३ किलोवाट–आवर क्षमताको ब्याट्री जडान गरिएको छ । एकपटक पूर्ण चार्ज गर्दा यसले सीएलटीसी मापदण्डअनुसार ५०५ किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ ।
आरामदायी यात्रालाई प्राथमिकता दिँदै गाडीमा ५१० लिटर क्षमताको बुटस्पेस, फराकिलो केबिन र प्रिमियम इन्टेरियर उपलब्ध गराइएको छ । सुरक्षाका लागि एडीएएस लेभल–२ प्रणाली समावेश गरिएको छ, जसले स्मार्ट र सुरक्षित ड्राइभिङ अनुभव दिने कम्पनीको विश्वास छ ।
लिपमोटर विश्वव्यापी अटोमोबाइल समूह स्टेलान्टिस को सहकार्यमा विस्तार भइरहेको ब्रान्ड हो । कम्पनीका अनुसार हालसम्म विश्वभर १६ लाखभन्दा बढी गाडी बिक्री भइसकेका छन् भने ४० भन्दा बढी देशमा १,७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्र मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
नेपालमा प्रिमियम इलेक्ट्रिक एसयूभीको माग बढिरहेका बेला लिपमोटर बी ०३ एक्सको आगमनले बजारमा नयाँ प्रतिस्पर्धा थप्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया