काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपालमा अब कुनै पनि प्रकारको धार्मिक द्वन्द्व हुन नहुने भन्दै सबै नागरिकलाई आपसी सद्भाव, सहिष्णुता र मेलमिलापका साथ बस्न आग्रह गरेका छन् ।
धनुषामा आन्दोलनरत हिन्दु सम्राट सेना लगायत संयुक्त हिन्दु मोर्चाका प्रतिनिधिसँग भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले देशको शान्ति, सुरक्षा र राष्ट्रिय एकतालाई मजबुत बनाउन संवाद र सहकार्यको विकल्प नरहेको बताए ।
उनले पछिल्लो समय देखिएका विवादहरू वार्तामार्फत समाधान गर्न सबै पक्षलाई आग्रह गर्दै भने, ‘हाम्रो देशमा धार्मिक द्वन्द्व अब देखिनु हुँदैन । हामी सबैजना मिलेर बस्नुपर्छ ।’
यसैबीच, धनुषामा केही समयदेखि आन्दोलनरत संयुक्त हिन्दु मोर्चाले सरकारसमक्ष १३ बुँदे मागपत्र पेश गरेको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा सुरक्षा निकायका प्रमुख र आन्दोलनरत पक्षबीच दुई चरणमा भएको वार्तापछि सकारात्मक सहमति जुटेपछि मोर्चाले आफ्ना सबै आन्दोलनका कार्यक्रम तत्कालका लागि फिर्ता लिएको छ ।
प्रमुख जिल्ला अधिकारीले आन्दोलनकारीका मागहरू सम्बन्धित निकायमा पठाइने जानकारी दिँदै धार्मिक सद्भाव कायम राख्ने, विभिन्न धार्मिक स्थलमा लाउडस्पिकरको प्रयोग व्यवस्थापन गर्ने, चाडपर्वका बेला हातहतियार प्रदर्शन नियन्त्रण गर्ने, सामाजिक सञ्जालमार्फत धार्मिक वा साम्प्रदायिक द्वेष फैलाउनेमाथि कानुनी कारबाही गर्ने लगायतका विषयमा छलफल भएको बताए ।
मागपत्रमा नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्ने विषयमा तीन महिनाभित्र सर्वदलीय छलफल अघि बढाउने, सुनसरीको देवानगञ्ज घटनापछि पक्राउ परेकाहरूको मुद्दा पुनरावलोकन गर्ने, घाइतेको उपचारको व्यवस्था गर्ने, धार्मिक आयोगहरूको औचित्य पुनरावलोकन गर्ने, नागरिकताको छानबिन गर्ने, धार्मिक स्थलमा हुने वैदेशिक फन्डिङको अनुसन्धान गर्ने तथा १२ वर्षीय आनन्द दासको घटनाका दोषीलाई कानुनी कारबाही गरी पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने लगायतका माग समावेश छन् ।
वार्ताबाट सकारात्मक निष्कर्ष निस्किएसँगै संयुक्त हिन्दु मोर्चाले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गर्दै शान्तिपूर्ण संवादको प्रक्रियामा सहभागी हुने निर्णय गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया