देशभर आज पनि आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द

लोकपथ
252
Shares

काठमाडौं । नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका अस्पताल, मेडिकल कलेज र स्वास्थ्य संस्थामा आकस्मिक (इमर्जेन्सी) बाहेकका सबै सेवा बन्द गरेको छ ।

वीरगञ्जको नारायणी अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमण तथा अस्पतालमा भएको तोडफोडका दोषीलाई सरकारले अझै पक्राउ गरी कारबाही नगरेको भन्दै सङ्घले आन्दोलन जारी राखेको हो ।

सङ्घका अनुसार घटना भएको चार दिन बितिसक्दा पनि दोषीमाथि कारबाही नभएको र न्याय माग्न गएका चिकित्सकहरूसँग पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले दुर्व्यवहार गरेको आरोप लगाइएको छ ।

यसै कारण मंगलबार बसेको सङ्घको आकस्मिक बैठकले बुधबार देशभर आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

आन्दोलनअन्तर्गत आज बिहान १० बजे काठमाडौं उपत्यकाका चिकित्सक र स्वास्थ्यकर्मीहरू माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गर्नेछन् । उपत्यका बाहिरका चिकित्सकहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने र आफ्ना स्वास्थ्य संस्थामा धर्ना दिने कार्यक्रम पनि तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?