सुनसरी घटनापछि प्रधानमन्त्रीको आश्वासन : ‘पीडितलाई न्याय र क्षतिपूर्ति दिइनेछ’

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले सरकारले पीडित परिवारको पीडा महसुस गरेको उल्लेख गर्दै न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रधानमन्त्रीले सुरक्षाकर्मीको गोली लागेर नागरिकको मृत्यु हुनु तथा घाइते हुनु अत्यन्त गम्भीर विषय भएको उल्लेख गर्दै घटनाको अनुसन्धान सुरु भइसकेको र दोषीमाथि कानुनअनुसार कारबाही हुने स्पष्ट पारेका छन् ।

उनले सरकारले घटनाको समग्र समीक्षा गरिरहेको र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधारका कदम चालिने बताएका छन् । साथै नागरिकलाई उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयम अपनाउन आग्रह गर्दै सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबैलाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री शाहले भनेका छन्, ‘फेरि पनि आग्रह गर्छु, मनमा छन् भने पनि तुस, रिस, डर, आक्रोशलाई हटाउनु होला । उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनूहोला। सुरक्षित र संयमित भएर बसौँ । एकअर्कालाई प्रेम र सम्मान गरौँ। सामाजिक सद्भाव कायम राखौँ ।’

उनले मान्छेको सबैभन्दा पहिलो धर्म मान्छे जोगाउनु भएको उल्लेख गर्दै सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा सुनिश्चित गर्नु, पीडितलाई न्याय दिलाउनु र दोषीलाई कानुनी दायरामा ल्याउनु रहेको बताए । ‘सरकारले आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउने काम यथाशक्य चाँडो गर्नेछ,‘ प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?