एक वर्षअघि हराएको ‘हायु परिवार’, अहिले कहाँ के गर्दैछन् ?

लोकपथ
1.9k
Shares

काठमाडौं । गत वर्ष साउन पहिलो साता एउटा खबर फैलियो । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बाट एउटा परिवार नै गायब ! ०८२ साउन ८ गते रातिदेखि उक्त परिवार गाउँमा नभएको खबर यत्रतत्र फैलियो । तर गए कहाँ ? रहस्यको विषय बन्यो ।

लोपोन्मुख जातीमा पर्ने हायु परिवार हराएको विषय सञ्चारमाध्यमदेखि आम चासोको विषय बन्यो ।

गाउँ वरिपरि उनीहरु भेटिएनन्, आफन्त र छिमेकीको सम्पर्कमा पनि भएनन् । घटना रहस्यमयी भयो ।

उक्त घटनाको एक वर्ष पुगेको छ । एक वर्षपछि अहिले भने सोही स्थानमा उनीहरु खुसीसाथ बसिरहेको गोलन्जोर गाउँपालिका वडा नं ६ का वडाध्यक्ष रविन तामाङले लोकपथलाई जानकारी दिए ।

‘अहिले उहाँहरु खुसीसाथ बसिरहनुभएको छ,’ उनले भने ।

त्यसबेला उर्मिला हायुले एक्लै ठूलो परिवारलाई भरथेग गर्दै आइरहेकी थिइन् । उनको श्रीमान केही समयअघि बितेपछि करिब १६ जनाको परिवारलाई एक्लै ह्याण्डेल गर्दै आइरहेकी थिइन् । उनका ६ छोरा र ६ जना छोरीसहित १६ जना उर्मिलाकै आश्रयमा बस्थ्यो ।

प्रकृति पुजकका रुपमा रहने हाजु जनजातीको मुख्य पेसा नै खेती किसानी र ज्याला मजदुरी थियो । घर छाड्ने अघिल्लो रात उनीहरुले घरमा भोज भतेर लगाएका थिए । केही दिनअघि सरकारले दिँदै आएको भत्ता बुझेका उनीहरुले भोज लगाएपछि गाउँ छाडेका थिए । घरमा पालिएका भैँसी, बाख्रा र कुखुरा समेत छाडिएको अवस्थामा भेटिएपछि घटनाबारे विभिन्न अड्कलबाजी हुन थाल्यो ।

उनीहरुको अपहरण भएकोदेखि रोजगारीका लागि गएको, केहीले ऋणको दबाबका कारण परिवार गाउँबाट हिँडेको हुनसक्ने अनुमानहरु बाहिरिए । कतिपयले कुनै अप्रिय घटना भएको आशंका व्यक्त गरे । आधिकारिक सूचना नहुँदा एकपछि अर्को अफवाह फैलियो ।

गाउँभन्दा केही पर जंगलको नजिकै थियो उनीहरुको बसोबास । जसकारण पनि उनीहरु हराएकोबारे अन्य छिमेकीहरुले थाहा पाउन केही समय लाग्यो ।

उनीहरु सम्पर्कविहीन भएको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सिन्धुली र स्थानीय प्रहरी टोलीले खोजी अभियान सुरु गर्यो । प्रहरीले आफन्तसँग सोधपुछ गर्नुका साथै सम्भावित यात्रा मार्ग, मोबाइल सम्पर्क र अन्य विवरण संकलन गर्दै खोजीलाई तीव्र बनायो । सामाजिक सञ्जालमार्फत पनि उनीहरूको खोजीका सूचना व्यापक रूपमा फैलाइयो ।

उनीहरु सम्पर्क भएको थाहा भएको तीन दिनपछि अर्थात् साउन ११ गते पोखरा पुगेको भन्ने खबर बाहिरियो ।

सामाजिक सञ्जालमा व्यापाक प्रचार, प्रहरीको तीव्र खोजीपछि पोखरा महानगरपालिका वडा नं ३० गगनगौँडामा सकुशल रुपमा परिवारका सबै सदस्यहरु रहेको जानकारी प्रहरीले पायो । तीन वटा कोठा नै भाडामा लिएर बसेका उनीहरुलाई आफ्नै घरमा फर्कन भनियो । तर आफूहरु बस्दै आएको ठाउँ सुरक्षित नभएको अडानपछि वडाध्यक्ष रविन श्रेष्ठ एकाएक त्यहाँ पुगे ।

वडाध्यक्ष श्रेष्ठले उनीहरुलाई गाउँ फर्किन आग्रह गरे तर उनीहरूले तत्काल फर्कन अस्वीकार गरे ।

पछि वडाध्यक्ष रविनसहित पोखरा महानगरपालिकाका धनराज आचार्य र पोखरा महानगरपालिका वडा नम्बर–३० का अध्यक्ष दुर्गा सुवेदीबीचको आपसी समन्वयपछि उनीहरु गाउँ फर्किन राजी भए ।

वडाध्यक्ष श्रेष्ठले उनीहरुका लागि सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धतापछि उनीहरु पुनः आफ्नै थातथलो फर्किएका थिए ।

वडाध्यक्ष श्रेष्ठले केही समय उनीहरुलाई आफ्नै घरमा सेल्टर दिए ।

स्थानीय सरकारले हायु परिवारका लागि नयाँ घर निर्माण गर्ने तयारी गर्‍यो । तर उनीहरुले आफ्नो पूरानै घरमा बस्ने इच्छा गरेपछि आवश्यक प्रबन्ध गरी पूरानै घरलाई मर्मत गरी बसोबासको व्यवस्था मिलाइएको वडाध्यक्ष श्रेष्ठ बताउँछन् ।

‘पोखराबाट फर्काइसकेपछि उहाँहरुलाई बासका लागि नयाँ व्यवस्थापन गर्ने तयारी गर्‍यौँ । तर उहाँहरु आफूहरुलाई पूरानै स्थानमा बस्न चाहेको बताएपछि सोही घरलाई मर्मत गरी बसोबासको व्यवस्था मिलायौँ,’ वडाध्यक्ष श्रेष्ठले भने ।

अहिले उनीहरुको दैनिकी सामान्य बनेको छ । परिवारमा १६ जना सदस्य रहेकोमा अहिले ६ जना मात्र त्यहाँ बस्छन्, कोही विदेश त कोही रोजगारीका लागि अयन्त्र पुगेको छन् ।

‘अहिले उहाँहरुको दैनिकी सामान्य छ । परिवारमा ६ जना मात्रै छन्,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘उहाँको छोरा बुहारी कोही विदेश पुगेका छन्, परिवारका केही सदस्यहरु रोजगारीका लागि शहर पसेका छन् ।’

स्थानीय तहले हायू समुदायको संरक्षण र जीवनस्तर सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । उनीहरुको परिवारका प्रत्येक सदस्यलाई वडाले जनही मासिक ४ हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । शिक्षा, स्वास्थ्य र आधारभूत सेवामा पहुँच बढाउने प्रयास पनि भइरहेका श्रेष्ठको भनाइ छ ।

वडाध्यक्ष श्रेष्ठका अनुसार गोलन्जोर गाउँपालिकामा हायु समुदायको जनसंख्या पछिल्लो समय बढ्दो क्रममा छ ।

गाउँपालिकामा मात्रै चार सयभन्दा बढी हायु समुदायका व्यक्ति बसोबास गर्दै आएका छन् । समुदायको संख्या बढ्दै जाँदा सबैलाई समान रूपमा सेवा र सुविधा उपलब्ध गराउनु चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ छ ।

उनले भने, ‘स्थानीय तहले हायु समुदायको संरक्षण र जीवनस्तर सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यसअन्तर्गत हायु परिवारका प्रत्येक सदस्यलाई मासिक ४ हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ । शिक्षा, स्वास्थ्य र आधारभूत सेवामा पहुँच बढाउने प्रयास पनि भइरहेको छ । गोलन्जोर गाउँपालिकामा हायु समुदायको जनसंख्या पछिल्लो समय बढ्दो क्रममा छ । गाउँपालिकामा मात्रै चार सयभन्दा बढी हायु समुदायका व्यक्ति बसोबास गर्दै आएका छन् ।

समुदायको संख्या बढ्दै जाँदा सबैलाई समान रूपमा सेवा र सुविधा उपलब्ध गराउनु चुनौतीपूर्ण बन्दै गएको गएको छ,’ उनले लोकपथसँग भने ।

लोपोन्मुख आदिवासी जनजातिको संरक्षण केवल भत्ता वितरणमा सीमित हुन नहुने बताउँदै वडाध्यक्ष श्रेष्ठले उनीहरुको शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक आत्मनिर्भरतामूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए । हायु समुदाय मुख्य रूपमा सिन्धुली र रामेछाप जिल्लाको सुनकोशी आसपासका क्षेत्रमा बसोबास गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?