काठमाडौं । सामाजिक सुरक्षा कोषमा हालसम्म १ खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ बराबरको योगदान रकम जम्मा भएको छ । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म सूचीकृत रोजगारदाता र योगदानकर्ताबाट उक्त रकम संकलन भएको कोषले जनाएको छ ।
कोषका अनुसार हालसम्म सूचीकृत रोजगारदाताको संख्या २३ हजार ४९० पुगेको छ भने सूचीकृत योगदानकर्ताको संख्या ३० लाख ४३ हजार २०० पुगेको छ ।
कोषले विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म २१ अर्ब २७ करोड १ लाख २० हजार २५२ बराबरको दाबी भुक्तानी गरेको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत रु ३ अर्ब ५२ करोड ५ लाख ४७ हजार ४६२ उपलब्ध गराइएको छ ।
त्यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत रु ३० करोड ४६ लाख ६ हजार ५१४, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत रु ३८ करोड ४ लाख २५ हजार २१६ र अवकाश सुरक्षा योजनाअन्तर्गत रु १७ अर्ब ६ करोड ४५ लाख ४१ हजार ६१ बराबर रकम भुक्तानी गरिएको कोषले जनाएको छ ।
पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत सामाजिक सुरक्षा कोषमा समेटिएपछि योगदान रकम बढ्दै गएको छ । पेन्सन, स्वास्थ्य उपचारलगायत सामाजिक सुरक्षाका कार्यक्रम विस्तार हुँदै गएपछि कोषप्रति सर्वसाधारणको आकर्षणसमेत बढेको बताइएको छ ।
कोषले संकलित रकमलाई विभिन्न उत्पादनमूलक क्षेत्रमा लगानी गर्न थालेको छ । उक्त लगानीबाट आर्थिक तथा सामाजिक क्षेत्रमा बहुआयामिक लाभ हासिल हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया