काठमाडौं । नेपालको शेयर बजार पछिल्लो पाँच वर्षमा रैथाने लगानीकर्ताको दायराबाट बाहिर निस्केर आम सर्वसाधारणको पहुँचमा तीव्र गतिले विस्तार भएको छ ।
नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको ‘नेपाल पुँजीबजार विकास मार्गचित्र, २०८३’ अनुसार, प्रविधिको विकास र सचेतनाका कारण नेपालको सेयर बजारमा आम नागरिकको सहभागिता उत्साहजनक रूपमा बढेको छ ।
नेपालको ५ वर्षको अवधिलाई मात्रै तुलना गर्ने हो भने डिम्याट खाता संख्या ४ गुणाले वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७७–७८ सम्म करिब १७ लाख मात्र रहेको डिम्याट खाता संख्या अहिले बढेर ७७ लाख ६६ हजार ५ सय ६५ पुगेको बोर्डले जारी गरेको मार्गचित्रमा उल्लेख रहेको छ । यो नेपालको कुल जनसंख्याको २६ प्रतिशतभन्दा बढी हो ।
पाँच वर्षअघि ७ लाख मात्र रहेको ‘मेरो सेयर’ खाता संख्या अहिले ६७ लाख ३७ हजार नाघेको छ । दोस्रो बजारमा आफैँ शेयर कारोबार गर्ने सक्रिय टिएमएस खातावालाको संख्या त ३५ हजारबाट बढेर ३४ लाख ६६ हजार ४ सय ९९ पुगेको छ ।
बजारको यो वृद्धिमा भौगोलिक सन्तुलन भने मिल्न सकेको छैन । कुल डिम्याट खातामध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा (३४.१३ प्रतिशत) खोलिएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा (२.९८ प्रतिशत) मात्रै छ ।
तथ्यांकअनुसार कोशी प्रदेशमा १८ दशमलव ९३ प्रतिशत, गण्डकी प्रदेशमा १२ दशमलव ४६ प्रतिशत, लुम्बिनी प्रदेशमा १२ दशमलव १४ प्रतिशत, मधेश प्रदेशमा १२ दशमलव ६८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा छ दशमलव ६७ प्रतिशतले डिम्याट खाता खालेका छन् ।
अर्कोतर्फ, शेयर बजारमा लगानीकर्ताको संख्या बढे पनि पछिल्लो समय बजार ओरालो लाग्दा सरकारले पाउने पुँजीगत लाभकर भने खुम्चिएको छ । आव २०७७–७८ मा १५ अर्ब ५४ करोड राजस्व संकलन भएकोमा चालू आवको जेठ मसान्तसम्म १० अर्ब ७० करोड मात्र राजस्व संकलन भएको छ ।
हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ सय ९७ कम्पनी सूचीकृत छन् र कुल बजार पुँजीकरण करिब ४६ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ, जुन देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ७०.५२ प्रतिशत बराबर भएको उक्त मार्गचित्रमा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया