काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक फोनपेले अनलाइन किनमेललाई अझ छिटो, सहज र सुरक्षित बनाउन ‘चेकआउट बाइ फोनपे’ नामक नयाँ भुक्तानी समाधान सार्वजनिक गरेको छ ।
यो सेवा पहिलो चरणमा फास्टोमार्फत उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
फोनपेका अनुसार नयाँ समाधानले ग्राहकलाई व्यापारीको वेबसाइट वा मोबाइल एपमै सिधै भुक्तानी गर्न मिल्ने सुविधा दिन्छ ।
यसबाट अर्को एपमा जानुपर्ने, पटक–पटक लगइन गर्नुपर्ने, ओटीपी प्रमाणीकरण तथा पुनः व्यापारीको प्लेटफर्ममा फर्किनुपर्ने झन्झट हट्नेछ । यसले चेकआउट प्रक्रिया छोट्याएर सफल कारोबारको दर बढाउने र अधुरा किनमेल घटाउने कम्पनीको विश्वास छ ।
हाल यो सेवा कृषि विकास बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, गरिमा विकास बैंक, कुमारी विकास बैंक, लक्ष्मी सनराइज बैंक, मञ्जुश्री फाइनान्स, मुक्तिनाथ विकास बैंक, नबिल बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक र सानिमा बैंकसहित ११ वटा वित्तीय संस्थाका मोबाइल बैंकिङ एपमार्फत उपलब्ध रहेको छ । आगामी महिनामा थप बैंक, वित्तीय संस्था तथा व्यापारी प्लेटफर्मलाई पनि यसमा आबद्ध गरिने जनाइएको छ ।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले इ–कमर्सको विस्तारसँगै भुक्तानी प्रक्रिया पनि किनमेल अनुभवजत्तिकै सहज हुनुपर्ने बताए । नयाँ समाधानले ग्राहकका लागि छिटो र सरल भुक्तानी अनुभव उपलब्ध गराउनुका साथै व्यापारीलाई उत्कृष्ट चेकआउट अनुभव दिन सहयोग गर्ने उनले बताए ।
पहिलो मर्चेन्टका रूपमा फास्टोमा सेवा सुरु भएसँगै ग्राहकले अनलाइन अर्डर गर्दा ‘चेकआउट बाइ फोनपे’मार्फत सिधै भुक्तानी गर्न सक्नेछन् ।
सेवा सार्वजनिक भएको अवसरमा फोनपे र फास्टोले विशेष क्यासब्याक अभियान पनि सञ्चालन गरेका छन् । जुलाई ७ देखि १३, २०२६ सम्म फास्टोमार्फत अर्डर गरी ‘चेकआउट बाइ फोनपे’ प्रयोग गरेर भुक्तानी गर्ने ग्राहकले २० प्रतिशतसम्म (अधिकतम १ हजार रुपैयाँ) क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
फोनपेले ‘चेकआउट बाइ फोनपे’ले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई अझ प्रभावकारी, सुरक्षित र ग्राहकमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया