काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेट निर्माणका क्रममा करका दरमा देखिएका केही प्राविधिक त्रुटि इमान्दारीपूर्वक सच्याइएको स्पष्ट पारेका छन् ।
मंगलबार राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८३ माथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले भन्सार दर हेरफेरका क्रममा भएको प्राविधिक त्रुटिका कारण रगत र भ्याक्सिन बोक्ने विशेष क्यारियरको भन्सार दर ३० प्रतिशतबाट १५ प्रतिशतमा झार्ने क्रममा सोही एचएस कोडअन्तर्गत पर्ने प्लास्टिकका सुटकेसको दर पनि घट्न पुगेको बताए ।
उनका अनुसार उक्त त्रुटि पहिचान भएपछि प्लास्टिकका सुटकेसको भन्सार दर पुनः ३० प्रतिशतमै कायम गरिएको हो । यसलाई नयाँ कर वृद्धि नभई प्राविधिक त्रुटिको सुधारका रूपमा बुझ्न उनले आग्रह गरे ।
‘हाम्रो नियत सफा थियो। वर्गीकरणका कारण प्लास्टिकका सुटकेसको पनि दर घट्न पुगेपछि मान्यज्यूहरूको हातमा पुस्तिका पर्नुअगावै मैले आफैं सच्याएर छाप्न पठाएको हुँ,‘उनले भने ।
अर्थमन्त्री वाग्लेले विगतमा संसद्लाई जानकारी नै नदिई रातारात भन्सार दर परिवर्तन हुने गरेको उल्लेख गर्दै आफूले भने पारदर्शी ढंगले संसद्का महासचिवलाई पत्र लेखेर त्रुटि सच्याएको बताए ।
आफ्नो नैतिकतामाथि उठाइएका प्रश्नको प्रतिवाद गर्दै उनले कसैले दुई रुपैयाँ मात्रै पनि बदमासी भएको प्रमाणित गरे राजनीति नै छोड्ने चुनौती दिए ।
‘यदि कसैले दुई रुपैयाँ मात्रै पनि बदमासी भएको प्रमाणित गर्छ भने म राजनीति नै छोडिदिन्छु,‘उनले भने ।
विद्युतीय सवारी साधनबारे सरकारले ५० लाख रुपैयाँभन्दा कम बजार मूल्य भएका गाडीको भन्सार दर नबढाउने नीति लिएको उनले स्पष्ट पारे ।
त्यस्तै, आयकरको माथिल्लो सीमा ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशतमा ल्याइएको जानकारी दिँदै यसबाट करको दायरा विस्तार हुने र स्वेच्छिक कर अनुपालन बढ्ने विश्वास व्यक्त गरे ।
बिजुलीमा लगाइएको भ्याटका सम्बन्धमा ५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताको महसुल नबढ्ने गरी प्रणाली सुधार गरिने उनले बताए ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएका शुल्कबारे उनले निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका अभिभावकबाट उठाइने ३ प्रतिशत शुल्क दुर्गम क्षेत्रका सामुदायिक विद्यालयको गुणस्तर सुधारमा खर्च गरिने बताए । यो व्यवस्था प्रगतिशील करको सिद्धान्तअनुसार ल्याइएको उनको दाबी थियो ।
राजस्व संकलन चुनौतीपूर्ण रहेको स्वीकार गर्दै उनले आन्तरिक राजस्व विभाग र भन्सार विभागमा सक्षम तथा इमानदार नेतृत्व चयन गरिएको र आगामी आर्थिक वर्ष १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
अर्थमन्त्री वाग्लेले बजेटको विश्वसनीयता कायम राख्न घोषित आकारअनुसार नै कार्यान्वयन गरिने प्रतिबद्धता पनि व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया