काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ‘ मोबिलिटी एक्स्पो २०२६ आयोजना गर्ने भएको छ ।
सबैका लागि मोबिलिटी’ भन्ने मूल नारासहित एक्स्पो आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको हो ।
आज आयोजित पत्रकार सम्मेलनमा नाइमाले एक्स्पोको तयारी, उद्देश्य, मुख्य आकर्षण तथा अटोमोबाइल क्षेत्रका समसामयिक विषयबारे जानकारी दिएको हो ।
नाइमा अध्यक्ष ऋतुसिंह वैद्यका अनुसार यस वर्षको एक्स्पोमा ५५ भन्दा बढी अन्तर्राष्ट्रिय तथा स्वदेशी ब्रान्ड सहभागी हुने अनुमान गरिएको छ । प्रदर्शनीमा दुई पाङ्ग्रे, चार पाङ्ग्रे, व्यावसायिक, विद्युतीय (ईभी) तथा हाइब्रिड गरी ४० भन्दा बढी नयाँ सवारीसाधन नेपाली बजारमा पहिलो पटक सार्वजनिक (लन्च) गरिनेछ ।
उनले एक वर्षअघि २१ सदस्य कम्पनीबाट स्थापना भएको नाइमामा हाल ३६ सदस्य कम्पनी आबद्ध भइसकेको बताउँदै निजी क्षेत्रको लगानी र विश्वास बढ्दै गएको संकेत भएको उल्लेख गरिन् ।
यसपटक एक्स्पोलाई व्यापारिक प्रदर्शनीमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वसँग पनि जोडिएको नाइमाले जनाएको छ ।
टिकट बिक्रीबाट संकलित आम्दानीको १० प्रतिशत रकम अनुसन्धान फेलोसिपका लागि छुट्याइनेछ । उक्त रकमबाट मोबिलिटी क्षेत्रसँग सम्बन्धित अनुसन्धानलाई प्रोत्साहन गरिनेछ र अनुसन्धान प्रतिवेदनहरू ‘नाइमा मोबिलिटी जर्नल’मा प्रकाशित गरिनेछन् ।
पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी आयोजना गर्न आवश्यक पूर्वाधारको अभाव रहेको उल्लेख गर्दै सरकारले अन्तर्राष्ट्रिय स्तरको एक्स्पो सेन्टर निर्माणलाई प्राथमिकता दिनुपर्ने माग गरिन् ।

साथै, सवारीसाधनमा लाग्ने उच्च कर र कडा कर्जा नीतिका कारण बजार विस्तारमा चुनौती रहेको भन्दै ८०:२० लोन रेसियोसहित खुकुलो मौद्रिक नीति लागू गर्न सरकार र नेपाल राष्ट्र बैंकसँग निरन्तर छलफल भइरहेको जानकारी दिइन् ।
मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक लिमिटेडका डेपुटी प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले एक्स्पोमा आगन्तुकका लागि विशेष बैंकिङ तथा सवारी वित्तीय सुविधा उपलब्ध गराइने बताए । त्यस्तै, ‘पावर्ड बाइ पार्टनर’ रेड बुल नेपालका मार्केटिङ प्रमुख श्रय कृष्ण श्रेष्ठले एक्स्पो अवधिभर विभिन्न आकर्षक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।
नाइमाले हालसम्म १,६१० ट्राफिक प्रहरीलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरिसकेको जनाएको छ । एक्स्पो अवधिभर ‘मोबिलिटी संवाद’सहितका विभिन्न सिकाइ सत्रहरू सञ्चालन गरिनेछन्, जसबाट विद्यार्थी, पेशेवर तथा सर्वसाधारणले आधुनिक यातायात प्रविधि, विद्युतीय सवारी र सडक सुरक्षाबारे जानकारी प्राप्त गर्न सक्नेछन् ।
आयोजकका अनुसार एक्स्पोका लागि छुट्याइएका ५१ वटै स्टल पूर्ण रूपमा बुक भइसकेका छन् भने अत्यधिक मागका कारण केही कम्पनीलाई प्रतीक्षा सूचीमा राखिएको छ ।

यस वर्षको एक्स्पोमा विशेषगरी विद्युतीय सवारीसाधन (ईभी) मुख्य आकर्षण रहनेछ । चार पाङ्ग्रेतर्फ टाटा, बीवाइडी, किया, टोयोटा, हुण्डाई, एमजी, निसान, हाभल, ओमोडा, जेइकु, आयन र भीजीभीका नयाँ मोडलहरू प्रदर्शन गरिनेछन् । त्यस्तै, दुई पाङ्ग्रेतर्फ प्युजो, एनआईयु, याडिया, एसर, ग्यारोका विद्युतीय स्कुटर तथा मोटरसाइकलसँगै बजाज, टीभीएस, केटीएम र ट्रायम्फका नयाँ उत्पादन पनि प्रदर्शनीमा रहनेछन् ।
एक्स्पोको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक लिमिटेड, ‘पावर्ड बाइ पार्टनर’ रेड बुल नेपाल तथा आईएमई पे टिकटिङ पार्टनर रहेको छ । प्रवेश शुल्क विद्यार्थीका लागि १०० रुपैयाँ र सर्वसाधारणका लागि २०० रुपैयाँ तोकिएको नाइमाले जनाएको छ ।
नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले एक्स्पोलाई प्रदर्शनीसँगै सिकाइको उत्कृष्ट प्लेटफर्म बनाउने लक्ष्य रहेको बताउँदै परिवार, विद्यार्थी, पेशाकर्मी, उद्यमी, नीति निर्माता, सञ्चारकर्मी तथा सर्वसाधारणलाई साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सहभागी हुन आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया