काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जान श्रेष्ठले आगामी मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा रहेको बताएका छन् ।
उनले बजेटबाट सम्बोधन हुन नसकेका विषयहरू मौद्रिक नीतिमार्फत समेट्दै अर्थतन्त्रलाई चलायमान बनाउने खालको नीति ल्याउन सरकार र नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन् ।
आइतबार प्रतिनिधि सभाको अर्थ समितिमा आगामी मौद्रिक नीतिबारे भएको छलफलमा बोल्दै अध्यक्ष श्रेष्ठले अर्थतन्त्रलाई पुनर्जीवित गर्न नीतिगत सुधार अपरिहार्य रहेको बताए ।
बजेटले केही माग सम्बोधन गरे पनि निजी क्षेत्रका धेरै अपेक्षा अझै बाँकी रहेकाले ती विषय मौद्रिक नीतिमा समावेश हुनुपर्ने उनको भनाइ थियो ।
उनले विगतका मौद्रिक नीतिले व्यवसायीलाई राहत दिएको स्मरण गर्दै यसपटक पनि उत्पादन, लगानी र रोजगारी प्रवर्द्धनलाई प्राथमिकता दिने नीति आवश्यक रहेको बताए ।
कर्जा प्रवाह बढाउने, उद्योग व्यवसायलाई सहज वित्तीय पहुँच उपलब्ध गराउने तथा उत्पादनमुखी क्षेत्रमा लगानी प्रोत्साहन गर्ने व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।
श्रेष्ठले नेपालमा रोजगारी सिर्जना गर्न उत्पादन बढाउनुपर्ने आवश्यकता औँल्याउँदै रोजगारी सिर्जना गर्न नसकेको आरोप राज्य र निजी क्षेत्र दुवैले खेपिरहेको बताए। यद्यपि देशको कुल रोजगारीमध्ये करिब ८६ प्रतिशत योगदान निजी क्षेत्रको रहेको उनको दाबी छ ।
राज्यले उद्योग तथा उत्पादनमूलक क्षेत्रलाई पर्याप्त सहयोग गर्न नसक्दा आयातमा अत्यधिक निर्भरता बढेको उल्लेख गर्दै उनले नेपालले हाल करिब ७० प्रतिशत वस्तु विदेशबाट आयात गरिरहेको र केवल ३० प्रतिशत मात्रै स्वदेशमै उत्पादन भइरहेको बताए । पेट्रोलियमबाहेकका अधिकांश वस्तु नेपालमै उत्पादन गर्न सकिने सम्भावना रहेको भन्दै आयात प्रतिस्थापन गर्ने रणनीति राज्यले अघि बढाउनुपर्ने उनको सुझाव थियो ।
उनले उद्योग विस्तार र स्वदेशी उत्पादन वृद्धि गर्न सके अर्थतन्त्रको स्वरूप नै परिवर्तन हुने दाबी गरे । निजी क्षेत्रलाई जग्गामा मात्र लगानी गर्ने आरोप लाग्ने गरेको उल्लेख गर्दै उनले व्यवसाय सञ्चालनका लागि बैंकबाट ऋण लिन जग्गा नै धितो राख्नुपर्ने बाध्यता भएकाले त्यस्तो अवस्था सिर्जना भएको बताए ।
अध्यक्ष श्रेष्ठले निजी क्षेत्रलाई अझ सिर्जनशील र नवप्रवर्तनमुखी बन्नुपर्ने आवश्यकता स्वीकार गर्दै त्यसका लागि स्थिर नीति, स्पष्ट सरकारी नियत र लगानीमैत्री वातावरण अपरिहार्य रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया