काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वसाधारणका लागि निष्काशन गरिएको प्राथमिक शेयर (आईपीओ) शुक्रबार औपचारिक रूपमा बाँडफाँट गरिएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले एक कार्यक्रमकाबिच आईपीओ बाँडफाँटको प्रक्रिया टुङ्ग्याएको हो ।
कम्पनीले गत असार ३ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि आवेदन खुला गरेको थियो । उक्त अवधिमा रीतपूर्वक आवेदन दिएका कुल २८ लाख १५ हजार ६७९ जना आवेदकहरूलाई नियमानुसार भाग्यशाली गोलाप्रथामा सामेल गराइएको थियो ।
जसमध्ये गोलाप्रथाबाट भाग्यमानी १ लाख ४२ हजार ७६० जना आवेदकले १० कित्ताका दरले शेयर हात पार्न सफल भएका छन् ।
आवेदन दिएका बाँकी ठुलो संख्याका लगानीकर्ताको हात भने खाली भएको छ ।
आईपीओको अन्तिम नतिजा सीडीएससीको आधिकारिक अनलाइन प्रणाली मार्फत हेर्न सकिनेछ ।
कम्पनीको वित्तीय अवस्था र आयोजना विवरण
माउन्ट एभरेष्ट पावरले सोलुखुम्बु जिल्लामा १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत् आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । यस जलविद्युत् परियोजनाको कुल निर्माण लागत २ अर्ब ३६ करोड ९३ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
यस हिसाबले आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ७४ लाख ४३ हजार ३३६ रुपैयाँ ८३ पैसा पर्न जान्छ । कम्पनीले सार्वजनिक गरेको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार यसको प्रतिसेयर नेटवर्थ ११३.९७ रुपैयाँ र प्रतिशेयर आम्दानी ५.१३ रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया