कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म सार्वजनिक हुने

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज बेलुकीसम्म सार्वजनिक हुने भएको छ ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज बेलुकीसम्म सबै पदको मतपरिणाम सार्वजनिक हुने जानकारी कांग्रेस मिडिया सेन्टरलाई दिएका हुन् ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति, उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ । सहमहामन्त्री र केन्द्रीय सदस्यका केही समूहको मतगणना सकिएको छ भने बाँकी पदको गणना जारी छ ।

सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् । कुल ७ हजार १३ मत खसेकामा ५४ मत बदर भएको थियो। थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाएका थिए ।

त्यस्तै, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन् । खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य निर्वाचित भएका छन् । समावेशी उपसभापतिमा विनोदकुमार चौधरी निर्वाचित भएका छन् ।

महामन्त्रीको खुला पदमा प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित भएका छन् । महिला महामन्त्रीमा डिला संग्रौला निर्वाचित भएकी छन् ।

सहमहामन्त्रीका विभिन्न समूहको परिणाम पनि आउने क्रम जारी छ । खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् । महिला सहमहामन्त्रीमा प्रतिमा गौतम, आदिवासी जनजातितर्फ बहादुरसिंह लामा र पिछडिएको क्षेत्रतर्फ जीवनबहादुर शाही निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्यका विभिन्न क्लस्टरको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । बाँकी पदको मतगणना पार्टीको केन्द्रीय कार्यालय सानेपामा विभिन्न समूह बनाएर भइरहेको निर्वाचन समितिले जनाएको छ । मतगणनालाई तीव्रता दिँदै आजै सबै परिणाम सार्वजनिक गर्ने समितिको तयारी छ ।

गत असोज १८ गते सुरु भएको कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज २३ गते मतदान भएको थियो । सभापति पदको मतपरिणाम असोज २४ गते बिहानै सार्वजनिक भए पनि अन्य पदको मतगणनामा ढिलाइ हुँदा सम्पूर्ण परिणाम आउन समय लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?