काठमाडौं । नेपालमा स्ट्रिट फुटबलको विकास, युवा प्रतिभाको पहिचान तथा अन्तर्राष्ट्रिय अवसर सिर्जना गर्ने उद्देश्यका साथ ‘एक्स्ट्रिम फुटबल फिभर आईएसएफए ३ विरुद्ध ३ स्ट्रिट फुटबल विश्वकप क्वालिफायर्स नेपाल २०२६’ आयोजना हुने भएको छ ।
एक्स्ट्रिम इनर्जी ड्रिङ्कको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको आयोजना तथा व्यवस्थापन एलपीएस म्यानेजमेन्ट प्रालि, एस एन्ड एस हेल्थ एन्ड रिसर्च सेन्टर (एईसी स्पोर्ट्स) र ट्रिपल टु प्रोडक्सन प्रालिले संयुक्त रूपमा गर्नेछन् ।
प्रतियोगिताको मुख्य उद्देश्य नेपालका विभिन्न जिल्ला तथा समुदायमा रहेका फुटबल प्रतिभाको खोजी गर्नु, युवालाई खेलकुदमार्फत सकारात्मक गतिविधिमा जोड्नु तथा उनीहरूका लागि अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धाको ढोका खोल्नु रहेको आयोजकले जनाएको छ ।
आयोजकले दिएको जानकारी अनुसार प्रतियोगिताको विजेता टोलीले आगामी सेप्टेम्बर २ देखि ६ सम्म नेदरल्यान्ड्सको युट्रेक्टमा आयोजना हुने आईएसएफए ३ विरुद्ध ३ स्ट्रिट फुटबल विश्वकप २०२६ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछ । विजेता टोलीका खेलाडीले एलपीएस म्यानेजमेन्ट प्रालिसँग तीन महिनाको व्यावसायिक खेलाडी सम्झौता पाउनेछन् भने विश्वकप तयारीका लागि बन्द प्रशिक्षणमा समेत सहभागी गराइने बताइएको छ ।
प्रतियोगितामा सहभागी सम्पूर्ण टोलीको प्रदर्शनका आधारमा नेपालकै पहिलो आधिकारिक ‘३ विरुद्ध ३ स्ट्रिट फुटबल वरीयता’ तयार गरिनेछ । भविष्यमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको छनोट प्रक्रियामा यही वरीयतालाई आधार बनाइनेछ ।
विश्व फुटबलका शक्तिशाली राष्ट्र ब्राजिल, अर्जेन्टिना, पोर्चुगल र स्पेनमा स्ट्रिट फुटबलको बलियो संस्कृति रहेको छ ।
फुटबलका विश्वचर्चित खेलाडी डिएगो म्याराडोना, रोनाल्डिन्हो, जिनेदिन जिदान, लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोले पनि सडक र गल्लीमा फुटबल खेल्दै आफ्नो यात्रा सुरु गरेका थिए ।
यसैगरी सन गार्नियर र सुफियान तुनाजीजस्ता विश्व प्रसिद्ध फ्रिस्टाइल फुटबल खेलाडी पनि स्ट्रिट फुटबलबाटै स्थापित भएका हुन् ।
प्रतियोगितामा देशभरबाट खुला तथा निःशुल्क दर्तामार्फत ९२ टोली सहभागी हुनेछन् । ती टोलीलाई २३ समूहमा विभाजन गरिने र प्रत्येक समूहका शीर्ष दुई टोली तथा तेस्रो स्थानमा रहेका उत्कृष्ट १८ टोली गरी ६४ टोली नकआउट चरणमा प्रवेश गर्नेछन् ।
प्रतियोगिता अन्तर्राष्ट्रिय स्ट्रिट फुटबल सङ्घ (आईएसएफए) को २०२५–०२६ को नियमअनुसार सञ्चालन हुनेछ । प्रत्येक खेल कुनै विश्रामबिना लगातार १० मिनेटको हुनेछ भने साइज–४ को फुटसल बल प्रयोग गरिनेछ । समूह चरणका खेल जुलाई १ देखि ८ सम्म, राउन्ड अफ ६४ जुलाई १० र ११, राउन्ड अफ ३२ जुलाई १३, राउन्ड अफ १६ जुलाई १५ तथा क्वार्टर फाइनल, सेमिफाइनल, तेस्रो स्थान र फाइनलका खेल जुलाई १९ मा हुनेछन् ।
सबै खेल अपराह्न ३ बजेदेखि बेलुका ८ बजेसम्म फ्लड लाइट, साङ्गीतिक प्रस्तुति तथा मनोरञ्जनात्मक वातावरणबिच सञ्चालन गरिने आयोजकले जनाएको छ। समूह चरणका खेल काठमाडौं उपत्यकाका ऐतिहासिक तथा साँघुरा बस्ती क्षेत्र कुमा ननी (टेकु), तबाहाल, लगन, ओमबहाल र तेबहाल–सङ्कटामा सञ्चालन गरिनेछ ।
सन् २०२३ मा स्थापना भएको अन्तर्राष्ट्रिय स्ट्रिट फुटबल सङ्घ (आईएसएफए) विश्वभरका स्ट्रिट फुटबल खेलाडी र समुदायलाई एउटै मञ्चमा जोड्ने संस्था हो । यसले आयोजना गर्ने ३ विरुद्ध ३ स्ट्रिट फुटबल विश्वकपमा ३२ राष्ट्रका टोलीले प्रतिस्पर्धा गर्ने गर्दछन् । प्रतियोगिताको मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिङ्क रहेको छ भने फुटबल मिडिया पार्टनर टेकर्स ट्रायो, समुदाय साझेदार सरस्वती यूथ क्लब रहेका छन् ।
स्थानीय संस्कृति र स्ट्रिट फुटबलको मौलिक वातावरणलाई जोड्ने उद्देश्यले यी स्थान छनोट गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताका सबै खेल ‘लेट्स प्ले स्पोर्ट्स’ युट्युब च्यानल र ‘नेपाल एफसी’ फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ। साथै खेलको नतिजा, तथ्याङ्क र प्रत्यक्ष अद्यावधिक आधिकारिक वेबसाइट ‘च्यालेन्ज प्लेस’ मार्फत उपलब्ध गराइने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया