काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) मा निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रविधि प्रयोगमा ल्याउने तयारी गरेको छ ।
क्यानका सचिव पारस खड्काका अनुसार एनपीएलमा डीआरएस प्रविधि जडान गर्न करिब डेढदेखि दुई करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यसबारे आगामी तीन दिनभित्र औपचारिक घोषणा गरिने उनले बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै खड्काले एनपीएललाई थप निष्पक्ष र व्यावसायिक बनाउन डीआरएस प्रविधि भित्र्याउने तयारी भइरहेको जानकारी दिए । यद्यपि यसको अन्तिम निर्णय आवश्यक प्रक्रिया पूरा भएपछि मात्र सार्वजनिक गरिने उनले स्पष्ट पारे ।
डीआरएस प्रयोग गर्दा खेलको अवधि करिब आधा घण्टासम्म लम्बिन सक्ने भएकाले एनपीएलको खेल तालिकामा समेत केही हेरफेर गर्नुपर्ने हुनसक्ने खड्काले बताए ।
हाल खेल दिउँसो साढे ४ बजे सुरु गर्ने योजना रहेको छ । डबल हेडर हुने दिनमा भने समय व्यवस्थापनका लागि खेल केही छिटो सुरु गर्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।
हालको अनुमानअनुसार खेल बेलुका सवा ७ देखि साढे ७ बजेसम्म सकिने भए पनि डीआरएस प्रयोग गर्दा खेल सकिने समय ८ देखि सवा ८ बजेसम्म पुग्न सक्ने क्यानको आकलन छ । चिसो मौसम र शीतको प्रभावलाई ध्यानमा राखेर खेल सुरु हुने समय पनि केही अगाडि सार्न सकिने विकल्पमा छलफल भइरहेको छ ।
डीआरएस जडानका लागि लाग्ने करिब डेढदेखि दुई करोड रुपैयाँ क्यान र एनपीएलमा सहभागी आठवटै फ्रान्चाइजी टोलीले संयुक्त रूपमा व्यहोर्ने योजना रहेको खड्काले बताए ।
कमर्सियल मिडिया राइट्सबाट प्राप्त हुने आम्दानीमध्ये ५० प्रतिशत बाँडफाँड हुने हिस्साबाट उक्त खर्च व्यवस्थापन गर्ने योजना रहेको उनले जानकारी दिए । यसबाट कुनै एक पक्षमाथि मात्रै आर्थिक भार नपर्ने क्यानको भनाइ छ ।
एनपीएललाई थप निष्पक्ष र व्यावसायिक बनाउन तथा नेपाली क्रिकेटको प्रतिष्ठा बढाउन डीआरएस आवश्यक रहेको भन्दै क्यानले प्रक्रिया पूरा भएपछि यससम्बन्धी विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया