रास्वपा महाधिवेशन नसकिँदा प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित

लोकपथ
49
Shares

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको प्रभाव प्रतिनिधिसभा बैठकमा पनि परेको छ । 

गत असार ७ देखि ९ गतेसम्म हुने भनिएको रास्वपाको महाधिवेशन आज असार १२ गतेसम्म पनि नसकिएपछि प्रतिनिधिसभाको बैठक मिति दुई पटक सारिसकिएको छ ।

आज दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक तय गरिए पनि रास्वपा महाधिवेशन नसकिएकाले बैठक मिति सारिएको हो । असार ६ गतेको प्रतिनिधिसभा बैठकपछि अर्को बैठक असार ११ गतेका लागि बोलाइएको थियो । तर असार ११ गते बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । र, अर्को बैठक आजका लागि बोलाइएको थियो । 

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार शनिबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ । ‘मन्त्रीहरू तथा सांसदहरू चितवनमै हुनुहुन्छ, बैठक भोलि बिहानसम्मका लागि स्थगित गरिएको छ,’ उनले शुक्रबार भने ।

आजको प्रतिनिधिसभा बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुने कार्यसूची थियो । बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची थियो ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअन्तर्गत आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महालेखा परीक्षकको ३९औँ वार्षिक प्रतिवेदन, २०८३ सदनमा पेस गर्ने पनि रहेको थियो । त्यसपछि मन्त्री गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राखी सो विधेयक सदनमा प्रस्तुत गर्ने कार्यसूची थियो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यक्रम थियो । 

यस्तै, बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावसहित सम्बन्धित विधेयक सदनमा पेस गर्ने कार्यसूची थियो । बैठकमा आर्थिक विधेयक, २०८३ माथि प्राप्त संशोधनसहित छलफल हुने, संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिने तथा उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्रीले प्रस्तुत गर्ने कार्यसूची थियो । 

यसैगरी, अर्थमन्त्री वाग्लेले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिएपछि उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि उनले नै सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?