काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि विशेष भूमिगत जल सिँचाइ कार्यक्रम ल्याएको छ ।
कृषि उद्यमीका लागि ल्याइएको सो कार्यक्रम सञ्चालन गर्न विभागले ‘कृषि उद्यमीका लागि विशेष भूमिगत जल सिँचाइ कार्यक्रम योजना छनोट दिग्दर्शन, २०८३’ तयार गरेको छ ।
विभागका महानिर्देशक दिनेश रजौरियाले भूमिगत जलस्रोतको दिगो उपयोगमार्फत कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न, कृषि उद्यमी तथा किसानलाई भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउन तथा योजना छनोट र कार्यक्रम कार्यान्वयनलाई पारदर्शी, वस्तुगत एवं प्रभावकारी बनाउन सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐनबमोजिम दिग्दर्शन तयार गरिएको बताए । उनका अनुसार दिग्दर्शनमार्फत कृषि व्यवसाय सञ्चालन गर्ने व्यक्ति, फर्म, संस्था वा समूहलाई छनोट गरी कार्यक्रममा समावेश गरिनेछ ।
कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता दिइने विभागका उपमहानिर्देशक देव स्याङ्बोले बताए । उनका अनुसार महिला, आदिवासी जनजाति, दलित, अल्पसंख्यक तथा पिछडिएको क्षेत्रलाई पनि प्राथमिकता दिइनेछ ।
दिग्दर्शनमा कृषि सहकारी संस्था तथा महिला वा आमा समूह, प्राकृतिक प्रकोप प्रभावित परिवार, वैदेशिक रोजगारीबाट फर्केका युवा तथा स्थानीय तह, प्रदेश वा संघीय निकायमा दर्ता भएका संस्थालाई प्राथमिकता दिने व्यवस्था गरिएको छ ।
कार्यक्रममा सहभागी हुन कम्तीमा ६ हेक्टर जग्गा स्वामित्वमा वा भाडामा हुनुपर्नेछ । जग्गा भाडामा लिएको भए कम्तीमा १० वर्षको सम्झौता र सम्बन्धित जग्गाधनीले ट्युबवेल निर्माण गर्न दिएको मञ्जुरीनामा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
दिग्दर्शनअनुसार तरकारी तथा फलफूल, मसला बाली, बीउ उत्पादन तथा नर्सरी, अन्य नगदे बाली, पुष्प खेती, जडीबुटी, माछापालन तथा घाँस र पशुचारा उत्पादनलाई प्राथमिकता दिइनेछ ।
योजनाका लागि जग्गाको स्वामित्व तथा उपयुक्तताको स्थलगत प्रमाणीकरण गरिने र भूमिगत जलस्रोतको सम्भाव्यता रहेको स्थान पहिचान गरिनेछ । सम्बन्धित कार्यालयले योजना सञ्चालन हुने सिँचाइ क्षेत्र, कृषि उत्पादन तथा संरचनाको मर्मतसम्भारको नियमित अनुगमन गर्ने व्यवस्था दिग्दर्शनमा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया