काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले न्यायपालिका लगायत संवैधानिक निकायमा हुने दलीय भागबण्डाको अन्त्य गर्न प्रधानमन्त्री बालेन्द्र शाहसँग आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले नयाँ प्रधानन्यायाधीश नियुक्तिको सन्दर्भमा विगतदेखि चल्दै आएको राजनीतिक भागबण्डा र सेटिङको संस्कृति अन्त्य गर्नुपर्ने बताएका हुन् ।
उनले कथित वरीयता र परम्पराको नाममा राजनीतिक दलका निकट व्यक्तिहरूलाई न्यायालयको सर्वोच्च पदमा पुरस्कृत गर्ने अभ्यासले देशमा अस्थिरता, भ्रष्टाचार र कानुनी शासनमाथि प्रहार भएको दाबी गरे ।
थापाले आफ्नो कुनै व्यक्ति विशेषप्रति पूर्वाग्रह नरहेको उल्लेख गर्दै आकांक्षीमध्ये कतिपय योग्य व्यक्ति रहेको स्वीकार गरे । तर, न्यायपालिका जस्तो संवेदनशील निकायमा राजनीतिक प्रभाव र दलीय हस्तक्षेप स्वीकार्य नहुने उनको भनाइ छ ।
उनले गत भदौमा भएको ‘जेन्जी आन्दोलन’, फागुन २१ गतेको नयाँ जनादेश तथा त्यसपछिको राजनीतिक परिवर्तनले पुरानो विकृत प्रणाली अन्त्य गर्ने जनअपेक्षा पैदा गरेको उल्लेख गरे । प्रधानमन्त्री शाहको नेतृत्वमा नयाँ सरकारले सुशासन र विधिको शासन स्थापित गर्न साहसिक निर्णय लिनुपर्नेमा उनले जोड दिए ।
राजनीतिक भागबण्डाको संस्कृति अन्त्य गर्न सके देशमा सुशासन र आर्थिक समृद्धिको आधार बलियो बन्ने विश्वास व्यक्त गर्दै थापाले प्रधानमन्त्री शाहलाई सफलताको शुभकामना पनि दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया