काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ ।
ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालले गण्डकी प्रदेशमा पहिलो मत खसालेका छन् । ८१ वर्षीय बराल कास्कीबाट महाधिवेशन प्रतिनिधि बनेका थिए ।
मतदानका लागि मतदाता बिहानैदेखि लाइनमा लागेका थिए । योसँगै हिजो मतदान गर्न नपाएका मतदाता फेरि उत्साही भएका छन् । टाढा जान पर्नेहरू मतदान गरेर दशैँ भित्र्याउन घर पुग्ने सोचमा छन् ।
खराब मौसम र प्राविधिक कारणसँगै ढिला मतदान शुरू गर्दा रातिमा मतदातालाई कठिन हुने भएकाले हिजो अपरान्हदेखि थाल्ने भनिएको मतदान मतदाताकै स्वास्थ्यलाई ख्यालमा राखेर आज बिहान सारिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताए ।
उनले दिउँसो ३ बजेसम्म मतदान गर्न कसिने बताए । महाधिवेशन प्रतिनिधिको संख्या ७ हजार ३ सय १७ रहेको पनि सदस्य सचिव कटुवालले बताए ।
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले साँझमा मतदान शुरू गर्दा रातभर मतदातालाई अप्ठेरो पर्ने भएकाले त्यसलाई मध्यनजर गर्दै आज बिहानदेखि थालिएको बताए । उनले मतपत्र धेरै भएकाले आफूसँगै ३२ जना वरिष्ठ अधिवक्ताहरूले मतपत्रमा हस्ताक्षर गरेको बताए । उम्मेदवार र मतदाता धेरै भएका कारण मतपत्र छपाइमा ढिलाई भएको थियो ।
आजको बसाई र खानाको खर्च पार्टीकै
आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले महाधिवेशन एक दिन लम्बिएको भन्दै महाधिवेशन प्रतिनिधिको शुक्रबारको होटल बसाई खर्च र खाना खर्च पार्टीले नै बेहोर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया