काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
पार्टीले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको जानकारी अध्यक्ष राउतले दिएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत राउतले पदभन्दा जनताको सेवा महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मधेस सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन् ।
उनले सरकारको गतिविधि र रवैयाका कारण जिल्ला–जिल्लामा आमजनता तथा पार्टी कार्यकर्तामाझ चरम असन्तुष्टि बढेको बताएका छन् ।
उनका अनुसार मधेस सरकारबाट जनताको हितमा उल्लेखनीय काम हुन नसकेको र विगत पाँच महिनादेखि पटक–पटक सुझाव दिँदा पनि सुधारको पहल नभएको दाबी गरिएको छ ।
राउतले वैशाख ११ गते बसेको पार्टी संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको जानकारी दिएका छन् ।
यसैबीच, मधेस प्रदेशसभामा जनमत पार्टीको संसदीय दलको नेतृत्व परिवर्तन गरिएको छ। चन्दनकुमार सिंह लाई नयाँ नेता तोकिएको छ भने यसअघिका नेता महेशप्रसाद यादव लाई पदबाट हटाइएको छ । यादव हाल मधेस प्रदेशका अर्थमन्त्री समेत हुन् ।
सोमबार यादवले सरकारलाई समर्थन कायम रहेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाए पनि पार्टीले उनलाई हटाउँदै सिंहलाई संसदीय दलको नेता नियुक्त गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया