काठमाडौं । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ लाई कुनै परिमार्जन नगरी पुनः प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले सो अध्यादेश जस्ताको तस्तै सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।
आइतबार मात्र राष्ट्रपति रामचन्द्र पौडेलले सो अध्यादेशमा पुनर्विचार गर्न आवश्यक रहेको भन्दै सरकारलाई फिर्ता पठाएका थिए । तर, सरकारले राष्ट्रपतिको सुझावअनुसार कुनै परिवर्तन नगरी पुरानै मस्यौदालाई पुनः सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री पोखरेलले बताए ।
उनले भने, ‘संवैधानिक परिषद् पहिलो संशोधन अध्यादेश २०८३ सम्माननीय राष्ट्रपतिज्यूबाट पुनर्विचारका लागि फिर्ता भएकोमा, उक्त अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष पुनः सिफारिस गर्ने निर्णय भएको छ ।’
सरकारले यसअघि पनि योसहित विभिन्न ८ वटा अध्यादेश सिफारिस गरेकोमा ७ वटा राष्ट्रपतिले जारी गरेका थिए । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि फिर्ता पठाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया