काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संस्थागत कब्जा, नीतिगत सेटिङ र दोहनको अन्त्य गर्न वर्तमान सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतका लुटतन्त्र सम्बन्धी प्रतिवेदनहरू अध्ययन गर्दा आफूलाई स्तब्ध बनाउने खालका तथ्यहरू भेटिएको बताए ।
‘एलिट वर्गको राजनीतिक–संस्थागत कब्जा, नीतिगत सेटिङ र व्यवसायी तथा भ्रष्ट राजनीतिज्ञबीचको अपवित्र सम्बन्ध अन्त्य गर्ने दिशामा सरकार अघि बढिरहेको छ,‘ उनले भने ।
वाग्लेले सरकार नयाँ सुरुवातको संकेत दिन खोजिरहेको उल्लेख गर्दै विगतका गल्तीहरू दोहोरिन नदिन निजी क्षेत्रलाई पनि जिम्मेवार बन्न आग्रह गरे । उनले भ्रष्टाचार र अपराधलाई संरक्षण गर्ने प्रयास नगर्न चेतावनीसमेत दिए ।
उनका अनुसार निजी क्षेत्रभित्र सरकारप्रति कठोर भएको आशंका भए पनि त्यो सत्य होइन । ‘हामी ‘फोहोर सफा’ गर्ने काममा छौँ, तर सावधानीपूर्वक, ‘उनले भने ।
रास्वपा सरकारलाई उद्धृत गर्दै उनले यो प्रक्रियालाई केहीका लागि पीडादायी हुन सक्ने स्वीकार गरे । साथै, इमानदार व्यवसायीका लागि सहज वातावरण बनाउने लक्ष्य रहेको उनले बताए ।
‘इमानदार उद्यमीले कर तिर्छ, रोजगारी सिर्जना गर्छ र अर्थतन्त्रलाई बलियो बनाउँछ भन्ने वातावरण बनाउन चाहन्छौँ,‘ उनले भने ।
अर्थमन्त्री वाग्लेले निजी सम्पत्तिको सुरक्षा, लगानीमैत्री नीति र कर प्रणालीलाई सरल बनाउने आगामी बजेटको प्राथमिकता हुने पनि बताए ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सुशासनप्रतिको प्रतिबद्धता उल्लेख गर्दै उनले काठमाडौं महानगरमा बालेनको कार्यकालमा ठूलो बजेट परिचालन भए पनि भ्रष्टाचारको आरोप नलागेको उदाहरण दिए ।
उनले आगामी बजेटले उदार अर्थतन्त्रको स्पष्ट मोडेल प्रस्तुत गर्ने दाबी गर्दै स्वदेशी, प्रवासी र विदेशी लगानी आकर्षित गर्ने सरकारको योजना रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया