काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सरकारको विकास नीति भौतिक संरचनामा मात्र सीमित रहेको टिप्पणी गरेका छन् ।
उनका अनुसार विकास भनेको चिल्ला फुटपाथ र फराकिला सडक मात्रै होइन, सबै नागरिकका लागि बसोबास, ओत र आधारभूत आवश्यकता सुनिश्चित गर्नु पनि हो ।
राउतले गरिब, मजदुर र सीमान्तकृत समुदायलाई हटाएर बनाइने संरचना नवधनाढ्यको विलासितामा मात्र सीमित हुने बताएका छन् । राज्यले नागरिकको संरक्षण गर्नुपर्नेमा उनीहरूलाई घरबारविहीन बनाउनु गलत भएको उनको भनाइ छ ।
उनले राज्य भूमि मात्र नभई जनता भएको उल्लेख गर्दै सरकार जनताको सेवाका लागि रहेको स्पष्ट पारेका छन् । सत्ता, सेना वा लोकप्रियताको आधारमा आफूलाई जनताभन्दा माथि ठान्नु खतरनाक हुने उनले चेतावनी दिएका छन् ।
राउतले ऐतिहासिक उदाहरण दिँदै शक्तिशाली शासकहरू पनि समयसँगै परिवर्तन भएको उल्लेख गरेका छन् । साथै, निर्णय गर्दा पीडितको ठाउँमा आफ्ना बालबालिकालाई राखेर सोच्न सरकारलाई सुझाव दिएका छन् ।
जापानमा एक बालिकाका लागि वर्षौँसम्म रेल सेवा सञ्चालन गरिएको उदाहरण दिँदै उनले राज्यले नागरिकप्रति गर्ने व्यवहारले भविष्यको पुस्तामा गहिरो असर पार्ने बताएका छन् ।
अन्त्यमा उनले जनताको संरक्षण गर्नुको सट्टा उनीहरूलाई विस्थापित गर्नु विधिको शासन विपरीत हुने निष्कर्ष निकालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया