विश्व प्रेस स्वतन्त्रता दिवसमा राष्ट्रपतिको आह्वान : ‘प्रेस स्वतन्त्रताको पूर्ण प्रयोग गरौँ’

लोकपथ
21
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाली सञ्चार क्षेत्रलाई सत्य, निष्पक्ष र निर्भीक पत्रकारितामा सक्रिय रहन आग्रह गरेका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवस २०२६ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पत्रकार तथा नेपाली नागरिकलाई शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले संविधानले प्रदान गरेको प्रेस स्वतन्त्रताको पूर्ण प्रयोग गर्दै आमनागरिकलाई सत्य सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले स्वतन्त्र पत्रकारितामार्फत सत्यको खोजी र तथ्यमा आधारित समाचार सम्प्रेषण गरी समाजमा सही सूचना स्थापित गर्न सञ्चार माध्यमको विशेष भूमिका रहने उल्लेख गरे । प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको भन्दै उनले विभिन्न लोकतान्त्रिक आन्दोलनमा प्रेसले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

राष्ट्रपति पौडेलका अनुसार, प्रेस स्वतन्त्रता नागरिकको सुसूचित हुने अधिकारसँग प्रत्यक्ष रूपमा जोडिएको छ। उनले भने, ‘प्रेस जति स्वतन्त्र, निष्पक्ष र सबल हुन्छ, लोकतान्त्रिक व्यवस्था पनि त्यति नै सुदृढ हुँदै जान्छ ।’

सन्देशमा पत्रकारहरूको सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको उल्लेख गरे। सूचना संकलनदेखि प्रसारणसम्मको सम्पूर्ण प्रक्रियामा अवरोधरहित रूपमा संलग्न भई सबै वर्ग र समुदायको आवाज उठाउन उनले आग्रह गरे ।

साथै, सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक र मिथ्या सूचनाले समाजमा अन्योल सिर्जना गर्न सक्ने चुनौतीतर्फ संकेत गर्दै उनले यस्ता चुनौतीको सामना गर्दै विश्वसनीय र तथ्यपरक सूचना प्रवाह गर्न सञ्चार क्षेत्रलाई आह्वान गरे ।

राष्ट्रपति पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसले नेपाली सञ्चार जगत्लाई थप ऊर्जा, हौसला र उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?