धवल शमशेर राणाको माग : ‘विक्रम पाण्डेलाई थुनामुक्त गरेर छानबिन गरियोस्’

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवल शमशेर राणाले विक्रम पाण्डेमाथि लागेको आरोपबारे सरकारले निष्पक्ष र तथ्यगत छानबिन गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री राणाले अनुसन्धानकै लागि पाण्डेलाई थुनामा राख्नु न्यायसंगत नभएको टिप्पणी गरेका हुन् ।

उनले छानबिनसँग सम्बन्धित अधिकांश अभिलेख राज्यकै मातहतमा रहेको अवस्थामा पाण्डेबाट प्रमाण नष्ट हुने, भाग्ने वा अनुसन्धानमा असहयोग गर्ने सम्भावना नरहेको उल्लेख गरेका छन् ।

‘अनुसन्धानकै लागि थुनामा राख्नु न्यायसंगत र औचित्यपूर्ण देखिँदैन,‘राणाले लेखेका छन्, ‘जनताबाट पटकपटक अनुमोदित व्यक्तित्व भएकाले उहाँबाट अनुसन्धानमा अवरोध हुने आधार देखिँदैन ।’

राणाले न्यायोचित प्रक्रिया अपनाउँदै पाण्डेलाई थुनामुक्त गरेर अनुसन्धान अघि बढाउन सरकारसँग आग्रह गरेका छन् । साथै, यस विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न पार्टी नेतृत्वसमक्ष अनुरोधसमेत गरेका छन् ।

उनले पाण्डे लामो समयदेखि सार्वजनिक जीवनमा सक्रिय रहेको, देशकै प्रतिष्ठित व्यवसायी भएको तथा राष्ट्रिय गौरवका विभिन्न योजनामा संलग्न रहँदै आएको पनि उल्लेख गरेका छन् । राणाका अनुसार अर्थतन्त्र, विकास र रोजगारीका क्षेत्रमा योगदान पुर्‍याएबापत पाण्डे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा सम्मानित हुँदै आएका छन् ।

उल्लेखनीय छ, पाण्डे ठेक्का सम्बन्धी अनलाइन प्रणाली ह्याकिङमा संलग्न रहेको अभियोगमा केही दिनअघि पक्राउ परेका थिए । प्रहरीले उक्त प्रकरणमा थप अनुसन्धान जारी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?