सुकुमबासी बस्ती हटाउने नाममा राज्यले आतंक मच्चायो : भीष्मराज आङ्देम्बे

लोकपथ
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सुकमबासी बस्ती हटाउने नाममा राज्यले डोजर आतंक मच्चाइरहेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता आङ्देम्बेले अव्यवस्थित बस्ती हटाउने नाममा गरिएको ‘डोजर आतंक’का कारण मानिसको ज्यान लिएको आरोप लगाएको हुन् ।

उनले राज्य आतंकको पर्याय बन्न नहुनेमा जोड दिँदै अभिभावक जस्तो हुनुपर्ने बताए । उनले विद्यालयमा डोजर लगाउँदा त्यहाँ अध्ययनरत सयौँ विद्यार्थी भविष्यबिहीन अवस्थामा पुगेको उल्लेख गरे ।

सरकारलाई मानवीय संवेदनशीलता अपनाउन उनले आग्रह समेत गरे । उनले सुकुमबासी समस्या समाधानका लागि स्पष्ट नीति, प्रक्रिया र सहकार्य आवश्यक रहेको बताएका हुन् । उनले राज्य सञ्चालनको शैली लोकतान्त्रिक हुनुपर्नेमा जोड दिँदै बल प्रयोगमार्फत गरिने व्यवस्थापनले नागरिकमा त्रास सिर्जना हुने र त्यसले विद्रोह उत्पन्न हुने चेतावनी दिए ।

उनले मुलुकलाई व्यवस्थित र सुन्दर बनाउने विषयमा आफूहरुको कुनै असहमति नरहेको स्पष्ट पारे । खोला–नाला, राजधानी तथा देशका विभिन्न भूगोललाई व्यवस्थित र आकर्षक बनाउने कार्यमा सबैको साझा चाहना रहेको उनको भनाई छ । तर व्यवस्थित गर्ने नाममा विधि र प्रक्रिया मिच्न नहुनेमा उनले जोड दिए । लोकतान्त्रिक मूल्य र मान्यताभित्र रहेर काम गर्न उनले सरकारलाई सुझाव दिए ।

उनले भने, ‘हामीले मुलुकलाई व्यवस्थित गर्ने कुरामा कहाँ विमति जनाएका छौं ? मुलुक सुन्दर बन्नुपर्दछ । हाम्रा खोला नालाका खोला नालाहरु थप सुन्दर बनेर बगोस्, हाम्रो राजधानी थप सुन्दर बनोस् । हाम्रा चाहिँने मफसल, हाम्रा चाहिँने भूगोललाई नेपाल यो चार किल्ला हाम्रो मुलुक सुन्दर बनोस् । अव्यवस्थित कोही नहोउन्, यो हामी सबैको चाहना हो । त्यसमा कहीँ कतै राज्यलाई हामीहरुले विमति जनाईदिएका छैनौं । तर शैली लोकतान्त्रिक हुनु पर्यो । कुरा उठेको छ, जमिन सरकारको हुने जनता कसको हुने ? कुरा त उठ्यो नि त । भनेपछि राज्यले आफ्नो मुलुक बनाउनुपर्छ । आफ्नो खोला नाला सुन्दर बनाउनु पर्छ । अव्यवस्थित छ भने व्यवस्थित गर्नुपर्छ । त्यसलाई टुंगोमा पुर्‍याउनु पर्छ । तर त्यसको पनि प्रक्रियाहरु हुन्छन् । त्यसलाई पनि सही र गलत के हो, छुट्याईकन विधि र प्रक्रिया भित्रबाट देखिराख्नुभएको छ त ? स्कुलका स्कुलमा पढ्ने ३००, ४०० विद्यार्थी आज भविष्य बिहिन भएर बसिराख्नुभएको छ । दुईजना त आजको मितिमा वितिसक्नु भएको छ, अव्यवस्थितलाई हटाउने नाममा गरिएको डोजर आतंकले । मैले यो शब्द किन प्रयोग गरेको भन्दाखेरी जब मान्छेको मृत्यु सम्म पुग्ने अवस्था हुन्छ भने त कहीँ न कहीँ जनता आतंकित हुन्छ । राज्य आतंकको पर्याय बन्नु हुँदैन । राज्य त अभिभावक जस्तो पो हुनुपर्छ । हिजो हामीले सकेनौ होला । आज पनि त्यसैको निरन्तरता हो भने भोलि फेरि निष्कर्ष त विद्रोह हो । विद्रोहले पुगिने कहाँ हो ? यो कुरा बुझ्नुपर्छ । आज जसरी सुकुम्बासीको नाममा भएको यो जुन खालको आतंक छ, यसलाई विधि प्रक्रिया भित्र ल्याउनुस्, त्यति भनेको हामीले । हामी छौ साथमा । हामीले प्रतिपक्षको रुपमा कहाँ–कहाँ निर राज्यले हामीसँग सहयोग लिने ? डोजर चलाउनको निम्ति त हामीलाई बोलाउनु भएन नि । डोजर चलाउने बाटो यसरी बनाउँदा खेरी उसको घर मिचिँदैन भन्ने कुरामा त बोलाए हुन्छ । डोजर चलाउने बाटो एउटा सुकुम्बासीको घर मिचिएर नजाओस् । सुकुम्बासीलाई त व्यवस्थित गर्नुपर्छ । यस विषयमा ध्यान दिनुपर्दछ । आज त्यो खालको अवस्थाले मुलुक आतंकित छ ।’

उनले सरकार संख्याको बलमा विधि र प्रक्रियालाई मिचेर अगाडी बढिरहेको आरोप लगाए । प्रतिपक्षी दलहरुले देखाएको सदाशयतालाई कमजोरीको रुपमा नलिन पनि उनले सरकारलाई चेतावनी दिए । उनले हाल सरकार जनताको अभिमतलाई विश्वास नगरेर संसदलाई बन्धक बनाएर अध्यादेशबाट चलिरहेको आरोप लगाए । उनले चोर बाटोबाट देश चलाएर दिगो. विकास र शान्ति नहुने उल्लेख गरे । उनले सरकारको नीति तथा कार्यक्रम, बजेट लगायत अन्य समस्याका बारेमा छलफल गर्ने संसदलाई वन्धक बनाएर राख्न नहुनेमा जोड दिए ।

उनले भने, ‘जनताको अभिमतबाट प्राप्त भएको यत्रो ठूलो आकारलाई विश्वास नगरेर, त्यो आकारले एउटा टुङ्गोमा पुर्‍याउँछ भन्ने विश्वास नगरेर जसरी चोर बाटोबाट उहाँहरूले आफूहरूलाई निकाल्ने कोसिस गरिराख्नुभएको छ, यसले राम्रो संकेत दिइराखेको छैन । यसले उहाँहरूलाई भोलि फेरि दुईतिहाइ पुर्‍याएर या अझै ठूलो पार्टी बन्नका निम्ति मात्रै हो भने त भन्ने केही पनि थिएन तर यसले त मुलुक समाप्त हुन्छ, भन्ने चिन्ता हामीलाई लागिराखेको छ । यो चिन्ता पार्टीको रूपमा हामीले गर्दा जनताले हिजो तैंले के गरिस ? भन्ने ठाउँ त रहला तर जनता नै नरहने हो कि ? भन्ने खालको ठाउँमा पुग्यो भने जनता जसले भोट हाल्यो, उहाँहरूले पनि सोच्ने अवस्था सिर्जना होला । त्यसले गर्दाखेरी चोर बाटोबाट व्यक्त भएका व्यक्तिहरूले मुलुकलाई दिगो शान्तितर्फ दिगो विकासतर्फ डोर्‍याएर लैजाँदैन । यसले कहीँ न कहीँ बुमर्‍याङमा पुर्‍याउँछ । जनताले दिएको जनताको त्यत्रो ठूलो अभिमत माथि उहाँहरूले भरोसा गर्नुपर्दछ । तयारी पुगेन भन्ने भाषा राखेर एउटा मितिमा घोषणा गर्ने ४८ घण्टा बित्न नपाउँदै यो कारणले भनेर रोकिदिने त्यो त बचकना भयो नि । मुलुकको संसद्को कुरा हो । त्यसमाथि पनि अध्यादेशबाट मुलुक चलाउँछु भन्ने अभ्यास हिजो पनि भएको थियो । आज हिजोकै दिन देखाएर आजको आफ्नो कामको स्पष्टीकरण दिने हो भने त त्यसको के अर्थ भयो र ? हिजो त्यो भएर न आज यस्तो खालको अवस्था छ । अब चाँडै हामीले बजेटमा छलफल गर्नुपर्ने हुन्छ, जेठ १५ आउन आँटिसक्यो । नीति तथा कार्यक्रममा हामीले छलफल गर्नुपर्ला । विषयगत समितिहरूमा व्यापक छलफल गर्नुपर्ला । तपाईंहरूले यो जिल्ला समन्वय भित्रको चासो व्यक्त गरिराख्नु भएको छ, अर्को एउटा वर्ग होला जसले आफ्नो वर्गीय समस्या चिन्ता गरिराख्नुभएको छ, यी सम्पूर्ण समस्याहरूलाई फर्कें किनारमा राखेर आफू मात्रै कसरी बलियो हुने र मैले यो यो गर्नका निम्ति के के कुरामा चाहिं संशोधन गर्ने या बलमिच्याईं गर्ने भन्ने कोणबाट मात्रै सोचेर अगाडि बढेको छ भने समग्रमा मुलुकभरिको चिन्ता कहाँ निर रहेछ त नि ?’

उनले सम्पती शुद्धिकरणसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएको उल्लेख गर्दै सबैको सम्पती छानविन गर्न आवश्यक रहेको बताए । हालै सरकारमा गएकाहरुको पनि अस्वभाविक सम्पती देखिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?