काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई सशस्त्रका एक जना उपरीक्षक (एसपी) ले गालीगलौज गरेका छन् । नम्बर ३४ गण कैलालीका गणपतिसमेत रहेका आईडी नम्बर ९३७ का एसपी खुमबहादुर केसीले आईजी अर्याललाई ह्वाट्स एपमा अपशब्द प्रयोग गरेका हुन् ।
आज शुक्रबार रातिदेखि अवकाशमा जान लागेका सशस्त्र प्रहरी महानिरीक्षक अर्याल स्वयंले हिजो बिहीबारको परामर्श बैठकमा गणपति केसीले आफूलाई अघिल्लो राति आफ्नो ह्वाट्स एपमा अपशब्द लेखेको जानकारी गराएका थिए । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) देखि महानिरीक्षक (आईजीपी) सम्मको सहभागिता रहने सो परामर्श बैठकमा आईजीपी अर्यालले गणपति केसीले आफूलाई पठाएको म्यासेज पढेर सुनाएका थिए ।
स्रोतका अनुसार, आईजीपी अर्यालले म्यासेज पढेर सुनाउँदा परामर्श बैठकमा उपस्थित सशस्त्रका अधिकृतहरू म्यासेजमा चयन गरिएको भाषाशैलीलाई लिएर स्तब्ध बनेका थिए । आईजीपी अर्याललाई गणपति केसीले तुच्छ भाषा मात्र प्रयोग गरेका थिएनन्, आफूलाई कारबाही हुने भए बाहिनीपतिदेखि आईजीपीलाई पनि कारबाही हुनुपर्ने लेखेका थिए ।
गणपति केसीले आईजीपी अर्याललाई अपशब्द पोख्नुमा गत चैत ४ गते कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्ममा भएको घटनालाई लिएर भएको बुझिएको छ । यो घटनालाई लिएर उनलाई केही दिनअघि बयानका लागि मुख्यालयमा बोलाइएको थियो । बयानपछि उनलाई सचेत गराइएको थियो भने सशस्त्र मुख्यालयले उनी कार्यरत ३४ नम्बर गणलाई ध्यानाकर्षण गराएको थियो ।
नम्बर ३४ गण कैलाली नम्बर ७ महेश्वरी बाहिनीअन्तर्गत पर्छ । सो बाहिनीको निमित्त बाहिनीपतिमा अहिले एसएसपी दिगविजय सुवेदी छन् । सुवेदीलाई एक साताअघि गत शुक्रबार ६ जनाको डीआईजी बढुवामा पहिलो नम्बरमा राखेर सिफारिस गरिएको छ ।
गत चैत ४ गते भारतबाट अवैध रूपमा ल्याइएको सामान नियन्त्रणमा लिने क्रममा केही तस्कर समूह सशस्त्र प्रहरीको कार्यालयभित्रै प्रवेश गरी गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रदीप पौडेलमाथि हातपातको प्रयास गरेका थिए । तर, सो अवस्थामा आवश्यक बल प्रयोग नगरेको तथा सुरक्षा व्यवस्थामा कमजोरी देखिएको निष्कर्षसहित सम्बन्धित सबै कर्मचारीलाई सशस्त्र मुख्यालय तानिएको थियो ।
सशस्त्र प्रहरी प्रधान कार्यालयले यो घटनालाई गम्भीर रूपमा लिँदै त्यतिबेलै विस्तृत छानबिन अघि बढाएको थियो । कमान्डरमाथि आक्रमण प्रयास हुँदा पनि किन बल प्रयोग गरिएन र सुरक्षा व्यवस्थामा किन कमजोरी रह्यो भन्ने विषयमा अनुसन्धान केन्द्रित गरिएको थियो । साथै तस्कर समूह कसरी कार्यालयभित्र प्रवेश गर्न सफल भयो भन्ने विषयमा पनि विशेष चासो व्यक्त गरिएको थियो ।
यसअघि घटनाको छानबिनका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीले नं.४३ रिजर्भ गण वनबेहडा कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीको अध्यक्षतामा छानबिन समिति गठन गरेको थियो । घटनाका समयमा खटिएका अन्य सशस्त्र प्रहरी कर्मचारीलाई पनि मुख्यालय तानेर खक्रौला गुल्ममा सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलालीबाट नयाँ टोली खटाइएको थियो ।
खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका तत्कालीन गुल्मपति पौडेललाई भने नसियत दिइएको छ ।
३४ नम्बर गणका गणपति केसी यसअघि नम्बर १२ गण बारामा थिए । बारामा रहँदा उत्कृष्ट कार्य गरेको भन्दै उनलाई सरुवा गर्ने बेला सो गणबाट अर्को गणमा सरुवा गरिएको थियो ।
सशस्त्र प्रहरी मुख्यालयमा उत्कृष्ट गणको अवार्ड लिएपछि गण फर्कने बेला उनले बाराको कलैयामा ब्यान्डबाजासहितको सिन्दुरे जात्रा निकालेका थिए । उनको यो हर्कतलाई नेपाली सेनाले समेत त्यसबेला असन्तुष्टि जनाएको थियो ।
गणपति केसीमाथि नम्बर ७ बाहिनीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदीको निर्देशनसमेत नमान्ने गरेको आरोप पनि छ ।
यो पनि : सशस्त्रका तीन जना गणपति प्रधान कार्यालय झिकाइए, यस्ता छन् आरोप
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया