जग्गा अतिक्रमण रोक्न नदी किनारमा ‘बुद्ध पार्क’ बनाउने नगरप्रमुख महर्जनको प्रस्ताव

लोकपथ
0
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आफ्नो कार्यकालमा महानगरभित्रका बौद्ध सम्प्रदायसँग सम्बन्धित मूर्त तथा अमूर्त सम्पदाको संरक्षण र पुनर्निर्माणको कार्य पूर्ण रूपमा सम्पन्न भएको बताएका छन् ।

२५७०औँ बुद्ध जयन्तीको अवसरमा संयुक्त राष्ट्रसंघीय कार्यालय परिसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले ललितपुरका विहार, बही, चैत्य तथा मन्दिरहरूको पुनर्निर्माण र जीर्णोद्धारको काम आफ्नो पहिलो कार्यकालदेखि नै प्राथमिकतामा राखिएको उल्लेख गरे । ती सबै कार्य हाल सम्पन्न भइसकेको उनको भनाइ छ ।

नगरप्रमुख महर्जनले सम्पदा संरक्षण अभियानमा पूर्व नगरप्रमुख स्व। बुद्धराज बज्राचार्यको योगदानको स्मरण गर्दै भारत र जापान सरकारको सहयोगप्रति आभार पनि प्रकट गरे ।

उनले महानगरले बौद्ध जयन्ती समारोह समिति तथा प्रत्येक चार वर्षमा हुने ‘महासम्यक’ पर्व सञ्चालनका लागि ‘अक्षय कोष’ स्थापना गरी अमूर्त सम्पदाको संरक्षणमा आर्थिक स्थायित्व प्रदान गरिएको जानकारी दिए ।

काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्षसमेत रहेका महर्जनले नदी किनारका सार्वजनिक जग्गा अतिक्रमणबाट जोगाउन नयाँ अवधारणा अघि सारेका छन् । उनका अनुसार नदी किनारका खाली क्षेत्रहरूमा बुद्धका मूर्तिसहितका आकर्षक पार्क निर्माण गर्न सके संरक्षण पनि हुने र अतिक्रमण रोक्न पनि मद्दत पुग्नेछ ।

उनले भने, ‘मैले अघि सारेका योजनाअनुसार महानगरका अधिकांश बौद्ध सम्पदाको पुनरुत्थान भइसकेको छ । यदि कतै कुनै काम बाँकी छ भने जानकारी गराउन अनुरोध गर्दछु ।’

उनले ललितपुर महानगरमा सुकुम्बासी समस्या नरहेको दाबी गर्दै नदी किनारमा निर्माण गरिएका पार्कहरू व्यवस्थापनको राम्रो नमुना भएको बताए । यस्ता अभ्यासलाई छिमेकी महानगर तथा नगरपालिकाहरूले पनि अपनाउन सक्ने उनले सुझाव दिए ।

मेयर महर्जनले यस प्रस्तावलाई उपत्यका मेयर्स फोरममा छलफलमा लैजाने प्रतिबद्धता व्यक्त गर्दै बौद्ध विद्वान तथा बुद्धिजीवीहरूको रचनात्मक सहयोगको अपेक्षा पनि गरे । साथै, संविधानअनुसार मेयर पदमा दुई कार्यकाल मात्र बस्न पाइने व्यवस्था अनुसार यो आफ्नो अन्तिम वर्ष भएको उल्लेख गर्दै सम्पदा संरक्षणलाई कार्यकालभर उच्च प्राथमिकतामा राखिएको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?