संविधानले श्रम र रोजगारीको हक सुनिश्चित गरेको छ : राष्ट्रपति पौडेल

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समाजवादउन्मुख अर्थतन्त्र निर्माणसम्बन्धी संवैधानिक परिकल्पनाले क्रमशः मूर्तरूप लिँदै जाने विश्वास व्यक्त गरेका छन् ।

विश्व मजदुर दिवस (मे १, २०२६) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवीहरूलाई शुभकामना दिँदै राष्ट्रपति पौडेलले श्रमिक अधिकार सुनिश्चित गर्दै स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएका हुन् ।

शुभकामना सन्देशमा उनले मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गर्नुपर्ने उल्लेख गरेका छन् । स्वदेशी उत्पादनको प्रयोगलाई प्राथमिकता दिँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न आवश्यक रहेको उनको भनाइ छ ।

राष्ट्रपति पौडेलले पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिक दुवैको योगदान समान रूपमा महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गर्नुपर्ने बताएका छन् ।

उनले श्रमिकहरूको पेसागत मर्यादा, सम्मान तथा हक–अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ मा विश्व मजदुर दिवस मनाइने उल्लेख गरेका छन् । साथै, यस दिवसले विश्वभरिका श्रमजीवीहरूलाई आफ्नो हक, हित, अधिकार र स्वतन्त्रताको रक्षाका लागि एकताबद्ध हुन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

सन्देशमा नेपालको संविधानले प्रत्येक नागरिकलाई रोजगारी र श्रमको हक सुनिश्चित गरेको उल्लेख गर्दै उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक प्रत्याभूत गरिएको बताएका छन् । समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक र सामाजिक सुरक्षामा भेदभाव नगर्ने संवैधानिक व्यवस्था रहेको पनि उनले स्मरण गराएका छन् ।

राष्ट्रपति पौडेलले विश्व मजदुर दिवसले श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक र सामाजिक सुरक्षा सुनिश्चित गर्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?