सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ शुक्रबार ३ बजे, नवनियुक्त महानिरीक्षक पौडेललाई सोमबार मात्र दर्ज्यानी चिन्ह

लोकपथ
0
Shares

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई शुक्रबार बिदाइ गरिने भएको छ । 

१८ वैशाख (शुक्रबार मध्यराति १२ बजे) मा सशस्त्र प्रहरी महानिरीक्षकको चार बर्से पदावधि पूरा गरी अनिवार्य अवकाशमा जान लागेका अर्यालको बिदाइका लागि त्यस दिन दिउँसो ३ बजे सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा विशेष समारोह आयोजना गरिएको छ । अर्याल १९ वैशाख २०७९ मा सशस्त्र प्रहरी महानिरीक्षक नियुक्त भएका थिए । 

अर्याललाई नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले बिदाइ गर्नेछन् ।

अर्याल शुक्रबार मध्यराति नै अवकाशमा गएपछि सशस्त्र प्रहरी बलको नेतृत्व पौडेलले बहन गर्नेछन् । गत सोमबारको मन्त्रिपरिषद् बैठकले पौडेललाई महानिरीक्षकमा बढुवा नियुक्ति गर्ने निर्णय गरिसकेको छ । 

शनिबार र आइतबार सार्वजनिक बिदा भएकाले पौडेलले सम्भवतः सोमबार मात्र महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाउने छन् । 

यो पटक महानिरीक्षकलाई कसले दर्ज्यानी चिन्ह लगाइदिन्छन् भन्ने विशेष चासोको विषय बनेको छ । निवर्तमान गृहमन्त्री सुधन गुरुङले अबदेखि महानिरीक्षकलाई प्रधानमन्त्रीले दर्ज्यानी चिन्ह प्रदान गर्ने बताएकाले यो चासोको विषय बनेको हो । गुरुङको बहिर्गमनसँगै अहिले गृह मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हालिरहेका छन् । 

अहिले महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिन्ह लगाइदिने चलन छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?