काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको ३०० बिघा जग्गा अतिक्रमण भएको छ ।
विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको ३८० बिघा जग्गामध्ये ३०० बिघा जग्गा वर्षौंदेखि अतिक्रमण भएको सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार विनोद लेखकले जानकारी दिए ।
विसं २०६२ मा तत्कालीन टीकापुर विकास समितिले क्याम्पसको स्थापनाका लागि ३८० बिघा जग्गा क्याम्पसलाई दिएको भए पनि क्याम्पसले ८० बिघा मात्रै भोगचलन गर्न पाएको छ । क्याम्पसको जग्गा मुक्तकमैया तथा सुकुमबासीका नाममा अतिक्रमण भएको छ । टीकापुरमा पर्याप्त जग्गा भएका कारण विश्वविद्यालयले कृषि कार्यक्रम सञ्चालन गरेको भए पनि जग्गा अतिक्रमण हुँदा कृषि सङ्कायको प्रयोगात्मकका लागि समस्या हुँदै आएको उनले बताए ।
हाल कृषि सङ्कायले ४० बिघा जग्गा मात्रै उपयोग गर्न पाएको छ । कृषि सङ्कायको प्रयोगात्मकका लागि कृषि फार्म, माछापोखरीलगायत काम हुन नसक्दा कृषि सङ्कायमा अध्ययनरत विद्यार्थीहरूलाई प्रयोगात्मक गर्न समस्या भएको विश्वविद्यालयले जनाएको छ । ‘अतिक्रमित जग्गा फिर्ता ल्याउनका लागि विश्वविद्यालयले पटकपटक आग्रह गरे पनि अतिक्रमण हट्न सकेको छैन,’ उनले भने ।
विश्वविद्यालयका रजिष्ट्रार लेखकले भने, ‘अहिलेको सरकारले अतिक्रमित जग्गा फिर्ता ल्याउँछ भन्नेमा आशावादी छौँ, यसका लागि विश्वविद्यालयले पहल गरिरहेको छ ।’
यसअघि अतिक्रमित जग्गामा बसेकाहरूलाई विभिन्न राजनीतिक पार्टीको संरक्षण भएका कारण अतिक्रमण हटाउन समस्या भएको थियो । विश्वविद्यालयले अतिक्रमित जग्गाको छानबिन गरी फिर्ता ल्याउन प्रयास गरे पनि सार्थकता पाउन सकेको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया