सरकारसँग निर्माण व्यवसायीहरूको माग : तत्काल आर्थिक राहतको व्यवस्था गरियोस्

लोकपथ
105
Shares

काठमाडौं । निर्माण व्यवसायीहरुले निर्माण उद्योगमा आपत्काल घोषणा गरी आफूहरूलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

इन्धनलगायतका निर्माण सामग्रीहरूमा चर्को मूल्यवृद्धि भइरहेका बेला मंगलबार निर्माण व्यवसायीहरुले काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’लाई ज्ञापन पत्र बुझाउँदै सो माग गरेका हुन् । 

निर्माण कार्य ठप्प हुने गरी निर्माण सामग्रीहरूमा मूल्य वृद्धि भएकाले तत्काल राहत दिन काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलमार्फत प्रधानमन्त्री साहसँग माग गरिएको काठमाडौं उपत्यका निर्माण व्यवसायी संघका महासचिव पञ्चबहादुर तामाङले बताए ।  

उनले निर्माण सामग्रीहरूको मूल्य समायोजन गरेर व्यवसायमैत्री बनाउन पनि सरकारको ध्यानाकर्षण गराए । 

महासचिव तामाङले भने,‘निर्माण कार्य तीव्र हुनुपर्ने समयमा इन्धनसहित निर्माण सामग्रीहरूमा निरन्तर भइरहेको अत्यधिक मूल्यवृद्धि एवं अभावप्रति निर्माण व्यवसायीहरूलाई ठुलो आर्थिक भार परेको हुँदा निर्माण उद्योगमा आपत्काल घोषणा गरी व्यवसायीहरूलाई अविलम्ब राहत दिन संघ जोडदार माग गर्दछ । साथै प्रत्येक आयोजनामा मूल्यवृद्धि भएर हालको कानुनी व्यवस्थाबाट मूल्य समायोजन हुन नसक्ने हुँदा मूल्य समायोजन तत्काल जारी गर्न र सबै अवधिका ठेक्काहरूको हकमा मूल्य समायोजन गरी मूल्य वृद्धिको समस्याबाट निकास दिन सरकारसँग हार्दिक अपिल गर्दछ ।’

संघले प्रधानमन्त्री साहलाई बुझाएको ज्ञापन पत्रमा निर्माण कार्य ठप्प हुने अवस्था आएकाले सरकारले इन्धन, निर्माण सामग्री लगायतमा भएको मूल्यवृद्धि तत्काल हटाउनुपर्नेमा जोड दिइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?