कर्णाली । मध्यपश्चिम विश्वविद्यालयमा सञ्चालन भएको ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन–२०२६’ सम्पन्न भएको छ । वैशाख ११ गतेदेखि सुरु भएको सम्मेलनमा कर्णालीलाई सम्भावनाको बौद्धिक मानचित्रका रूपमा स्थापित गर्ने प्रयास थालिएको हो ।
अनुसन्धान संस्कृति, शैक्षिक संवाद र सरोकार भएका निकायबीचको साझेदारीलाई एउटै राष्ट्रिय तथा अन्तरराष्ट्रिय मञ्चमा ल्याउनु सम्मेलनको महत्त्पूर्ण उपलब्धि भएको मध्यपश्चिम विश्वविद्यालय अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक एवम् सम्मेलन व्यवस्थापन समितिका संयोजक डा यदुप्रसाद ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार नेपाली डायस्पोरासँग बलियो र नियमित सहकार्य गर्न ‘डायस्पोरा सम्पर्क कार्यालय’ स्थापना, कर्णालीको समृद्ध जैविक विविधताको उपयोग गर्न ‘डिजिटल हर्बेरियम तथा वेलनेस पर्यटन पहल’ सुरु, सांस्कृतिक तथा भाषिक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि स्थानीय भाषामा एआई उपकरणको विकास, विश्वविद्यालयहरूलाई वातावरणमैत्री बनाउन ‘हरित क्याम्पस रोडम्याप’ कार्यान्वयन गर्ने, प्रगति अनुगमन तथा नतिजा सुनिश्चित गर्न बलियो अनुगमन तथा मूल्याङ्कन प्रणाली स्थापना गर्नेलगायत निष्कर्ष निकालिएको छ ।
त्यस्तै, विश्वविद्यालयका योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा। विष्णुकुमार खड्काले सम्मेलनमा भएका छलफल ठोस प्रतिबद्धतामा रुपान्तरण गर्ने महत्त्वपूर्ण कदम भएको बताए । उनले मानवीय मूल्यद्वारा निर्देशित प्रविधि, विभिन्न क्षेत्रबीचको सहकार्य र स्थानीय बुद्धिमत्तासँग मिल्ने विश्वव्यापी ज्ञानबाट मात्र वास्तविक प्रगति हुन सक्ने सम्मेलनले देखाएको जनाए । उनका अनुसार सम्मेलनमा उठान भएका मुद्दाहरूको प्रभावकारी कार्यान्वयनका लागि व्यवहारिक कार्यमा ध्यान दिनुपर्छ ।
सम्मेलनबाट आएको एउटा स्पष्ट सन्देश ‘डिजिटल विभाजनको विरोधाभास’ ठहर गर्दै भनिएको छ, ‘हामी डिजिटल उपकरण प्रयोग गर्न चाहन्छौँ । तर, दुर्गम क्षेत्रका नागरिक पछाडि नपरुन् भन्ने सुनिश्चित गर्नुपर्छ । डिजिटल प्रगतिले असमानता बढाउनु होइन, घटाउनुपर्छ । नयाँ विचार एवम् दृढ सङ्कल्पसहित अगाडि बढ्नुपर्छ । कर्णालीलाई सम्मेलन मात्र होइन, निरन्तर सहकार्य, लगानी र व्यवहारिक कार्य आवश्यक छ ।’
सम्मेलनले विशेषगरी ज्ञान, मानवीय मूल्य, एआईको स्थानीय एवम् व्यवहारिक प्रयोग, उद्यमशीलता, अनुसन्धान, मूल्याङ्कन प्रणाली, कृत्रिम बुद्धिमत्ता, डिजिटल तथा आर्थिक रुपान्तरणमा प्रवासीको भूमिकालगायत नीतिमा जोड दिएको सम्मेलन व्यवस्थापन समितिका संयोजक डा। ज्ञवालीले उल्लेख गरे । मूलतः अन्तरराष्ट्रिय अनुसन्धान सञ्जाल, नीति सिफारिस र ज्ञान केन्द्रका रूपमा कर्णालीको पुनस्र्थापना हुने अपेक्षा गरिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया