काठमाडौं । देशका विभिन्न स्थानमा वन डढेलोका घटना पुनः तीव्र रूपमा बढ्न थालेका छन् भने काठमाडौं उपत्यकासहितका क्षेत्रमा वायु प्रदूषण खतरनाक स्तरमा पुगेको छ ।
लगातार वर्षा नहुँदा तापक्रम बढ्नुका साथै सुक्खा अवस्था गहिरिँदै जाँदा डढेलो र प्रदूषण दुवैमा उल्लेख्य वृद्धि भएको हो ।
वन तथा भूसंरक्षण विभागका अनुसार पछिल्ला दिनमा देशभर डढेलोका घटना पुनः बढ्दो क्रममा रहेका छन् । वैशाख ६ देखि ९ गतेसम्म मात्र १०२ वटा डढेलोका घटना दर्ता भएका छन् । सबैभन्दा बढी घटना दाङ, कपिलवस्तु र नवलपुरमा देखिएका छन् भने सल्यान, सुर्खेत र कैलालीलगायत जिल्लामा पनि डढेलो फैलिएको छ ।
विभागको तथ्याङ्कअनुसार संरक्षित क्षेत्रहरूमा समेत डढेलोको जोखिम उच्च रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै २३ वटा घटना दर्ता भएका छन् भने पर्सा र बाँके राष्ट्रिय निकुञ्जमा पनि उल्लेख्य संख्यामा डढेलोका घटना देखिएका छन् ।
महानिर्देशक धीरेन्द्रकुमार प्रधानका अनुसार सुक्खा मौसम, बढ्दो तापक्रम र मानवीय असावधानी डढेलोका प्रमुख कारण हुन् । ‘अहिले फेरि सुक्खा अवस्था बढेकाले सानो झिल्काले पनि ठुलो आगलागीको जोखिम छ, ‘उनले भने ।
डढेलोसँगै वायु प्रदूषण पनि तीव्र रूपमा बढेको छ । एयर क्वालिटी इन्डेक्स अनुसार काठमाडौंको वायु गुणस्तर २४७ सम्म पुगेको छ, जुन ‘अत्यन्त अस्वस्थ’ स्तर मानिन्छ । यससँगै काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहरमध्ये एक बनेको छ ।
वातावरणविद्हरूका अनुसार डढेलोबाट निस्कने धुवाँ र सूक्ष्म कणले उपत्यकाको वायु गुणस्तरलाई गम्भीर रूपमा बिगारेको छ । वर्षा नहुनु, हावाको गति कम हुनु र तापक्रम बढ्नुले प्रदूषक कणहरू वायुमण्डलमै थुप्रिएको बताइएको छ ।
स्वास्थ्य विज्ञहरूले बालबालिका, ज्येष्ठ नागरिक र श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरूलाई अत्यावश्यकबाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र सावधानी अपनाउन सुझाव दिएका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही दिन सुक्खा मौसम रहनेछ भने आगामी सातादेखि मात्र वर्षा हुने सम्भावना छ, जसले डढेलो र प्रदूषणको अवस्था केही सुधार गर्न सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया