काठमाडौं । नयाँ सरकार गठनसँगै मुलुकमा स्थिरता कायम भई लगानीमैत्री वातावरण बन्ने अपेक्षा गरिएको समयमा उद्योगी–व्यवसायीमाथि भइरहेको धरपकड र थुनछेकप्रति निजी क्षेत्रले गम्भीर चिन्ता व्यक्त गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स ले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै पछिल्ला दिनमा उद्योगी–व्यवसायीमाथि भइरहेको कारबाहीले निजी क्षेत्र त्रसित बनेको बताएका हुन् । उनीहरूले यस्तो अवस्थाले लगानीको वातावरणमा नकारात्मक असर पार्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
संयुक्त विज्ञप्तिमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल ले अर्थतन्त्रमा ८१ प्रतिशत तथा रोजगारीमा ८६ प्रतिशत योगदान पुर्याइरहेको निजी क्षेत्र नै त्रसित हुनुपर्ने अवस्था सिर्जना हुनु चिन्ताजनक रहेको उल्लेख गरेका छन् । यस्तो अवस्थाले अर्थतन्त्र, रोजगारी, राजस्व र पूर्वाधार विकासमा समेत गम्भीर असर पार्न सक्ने उनीहरूको भनाइ छ ।
तीनै संगठनले नियामकीय निकायका प्रतिवेदनका आधारमा मात्र उद्योगी–व्यवसायीलाई पक्राउ गर्नुको सट्टा आर्थिक कसुरसम्बन्धी मुद्दामा पहिले सुनुवाइ गर्ने र दोष प्रमाणित भएपछि मात्र कारबाही अघि बढाउने व्यवस्था अपनाउन सरकारसँग माग गरेका छन्। अनुसन्धानमा सघाउन तयार हुँदाहुँदै पनि पक्राउ गरिने प्रवृत्तिले निजी क्षेत्र थप चिन्तित बनेको विज्ञप्तिमा उल्लेख छ।
यस्ता गतिविधिले व्यक्तिगत मात्र नभई लाखौँ रोजगारी, आपूर्ति श्रृंखला, बैंकिङ क्षेत्र र समग्र आर्थिक प्रणालीमा नकारात्मक प्रभाव पार्ने चेतावनी पनि दिइएको छ । निजी क्षेत्रले कसुर प्रमाणित भए दोषीलाई कारबाही गर्नुपर्नेमा आफूहरूको कुनै आपत्ति नरहेको स्पष्ट पार्दै संविधानले दिएको अधिकारको सम्मान गर्न सरकारलाई आग्रह गरेको छ ।
विगत चार वर्षदेखि शिथिल अर्थतन्त्र नयाँ सरकारसँगै सुधार हुने अपेक्षा गरिए पनि पछिल्ला घटनाक्रमले लगानी वृद्धि र लगानीकर्तामा भरोसा जगाउने प्रयास प्रभावित हुन सक्ने निजी क्षेत्रको ठहर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया