विपद् व्यवस्थापन प्राधिकरणले भन्यो : विपद् व्यवस्थापनमा स्रोत, साधन छैन

लोकपथ
14
Shares

काठमाडौं । सरकारसँग विपद् व्यवस्थापनका लागि स्रोत तथा साधनको अभाव रहेको पाइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सो कुराको जानकारी गराएको हो ।

प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले त्यस्ता खालको अभाव हुन नदिनका लागि आफूहरुले निजी क्षेत्रसँगको सहकार्यमा जोड दिनुपरेको बताए ।

मनसुनजन्य विपद् व्यवस्थापनका लागि हवाई उद्धारका लागि आवश्यक पर्ने हेलिकप्टर, डुंगा, ड्रोन लगायतका व्यवस्थापन गर्नका लागि निजी क्षेत्रसँग सहकार्य गर्नु परेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख भट्टले गत वर्षमा जस्तै यस वर्ष पनि विपद व्यवस्थापनका लागि अभाव भएका स्रोत र साधनको थप व्यवस्थापनका लागि निजी क्षेत्रसँगको सहकार्यमा जोड दिइएको बताए ।

उनले भने,‘हामीसँग सामग्रीको अभाव छ । त्यसो भएपछि हामीले ड्रोनको सन्दर्भमा यसको एशोसिएशनहरु दुईं वटा रहेछ नेपालमा । उहाँहरु दुवैसँग सम्झौता गरेका थियौँ । हामीलाई परेको बेला उहाँहरुले ड्रोन उपलब्ध गराउने । ड्रोन र पाईलटलाई सम्बन्धित ठाउँमा पुर्‍याउने व्यवस्थापन र उहाँहरुको खाना र बस्ने व्यवस्थापन प्राधिकरणले गर्ने भन्ने थियो । त्यसैगरी हेलिका सम्बन्धमा गत वर्ष थियो । त्यो अहिलेसम्म जारी छ । काठमाडौं उपत्यकाभित्र हेलि उद्धार उहाँहरुले फ्रि गरिदिने निजीले पनि । अनि काठमाडौं बाहिर न्युनतम लागतमा गरिदिने भन्ने हिसाव थियो । त्यसैगरी डुंगाहरुमा पनि अभाव छ । त्यही भएर र्‍याफटिङ एशोशिएशनसँग पनि हामीले सम्झौता गरेका थियाँै । यो वर्ष पनि हामी निजी क्षेत्रसँग के मा अरु थप सहकार्य गर्न सकिन्छ भनेर हेरिरहेका छौ ।’

प्राधिकरणले विपद व्यवस्थापनको कामलाई प्रभावकारी बनाउनका लागि स्थानीय तहलाई ढल तथा खोलानाला अवरुद्ध नहुने गरी सफाईको काम गर्न पनि पत्रचार गरिएको जनाएको छ । विपद व्यवस्थापनको काम स्थानीय सरकारले प्रभावकारी ढंगले सम्पन्न गर्न सक्ने भएकाले सोही अनुसारको तयारी भईरहेको प्राधिकरणका कार्यकारी प्रमुख भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?