काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सार्वजनिक बिदाका दिन सरकारी अस्पतालमा ओपीडी सेवा नहुँदा बिरामीहरू समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले ओपीडी सेवा प्रभावित हुँदा सर्वसुलभ र सहज हुनुपर्ने स्वास्थ्य सेवाको पहुँच खुम्चिएको र बिरामीमाथि थप आर्थिक बोझ परेको बताएका छन् ।
पौडेलले आफू स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा रहँदा अतिरिक्त समय काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन दिँदै सार्वजनिक बिदाका दिनमा समेत निरन्तर सेवा उपलब्ध गराउने प्रक्रिया सुरु गरिएको स्मरण गराए ।
उनका अनुसार सरकारी अस्पतालमा हुने सेवाग्राहीको चापलाई ध्यानमा राखेर ओपीडी सेवालाई दुई सिफ्टमा सञ्चालन गर्ने तथा सेवा समय विस्तार गर्ने जस्ता सुधारका कामहरू अघि बढाइएको थियो ।
स्वास्थ्य सेवा विशिष्ट सेवा भएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई थप प्रोत्साहन भत्ता दिन अध्ययन प्रतिवेदन तयार गरी त्यसको कार्यान्वयनसमेत सुरु गरिएको उनले बताए ।
त्यसैगरी, अस्पतालहरूमा देखिएको जनशक्ति अभाव पूर्ति गर्न पहिलो चरणमा २५०० नयाँ स्वास्थ्यकर्मी थप गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी उनले दिए ।
सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामार्फत नागरिकलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउँदै निजी क्षेत्रलाई समेत प्रोत्साहन गर्न सके मात्र समग्र स्वास्थ्य प्रणाली नागरिकमैत्री बन्ने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया