काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको बताएका छन् ।
निर्वाचनसम्बन्धी सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीसहितको प्रतिवेदन ग्रहण गर्दै उनले हालसम्म कुनै पनि राजनीतिक दल वा उम्मेदवारबाट निर्वाचनबारे गुनासो नआएको स्पष्ट पारे ।
उनका अनुसार उम्मेदवारी दर्तादेखि मतगणनासम्मका सबै प्रक्रिया सहज रूपमा सम्पन्न भएका थिए । उनले पुनः मतगणना, बदर वा पुनः निर्वाचनसम्बन्धी कुनै पनि ‘सिकायत’ नआएको जानकारी दिए ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन सफल बनाउन समय, मौसम तथा समग्र परिस्थितिले पनि साथ दिएको उल्लेख गरे ।
निर्वाचनलाई शान्तिपूर्ण बनाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले यसपटक चुनावका क्रममा कुनै पनि किसिमको असुरक्षा नदेखिएको बताए ।
‘पहिलेका निर्वाचनमा शान्ति सुरक्षाको चुनौती देखिन्थ्यो, तर यसपटक यस्तो अवस्था बन्यो कि बन्दुक त के, लौरोसमेत उठाउनुपर्ने अवस्था आएन,‘उनले भने, ‘यस सफलताका लागि निर्वाचन आयोग सबैप्रति कृतज्ञ छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया