सभामुखद्वारा कुटनीतिक राहदानी वितरणबारे दलहरुसँग परामर्श

लोकपथ
84
Shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले कुटनीतिक राहदानीबारे छलफल सुरु गरेका छन् ।

बुधबार सिंहदरबारमा राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुलाई बोलाएर उनले कुटनीतिक राहदानी दुरुपयोग हुन नदिने विषयमा केन्द्रित भएर छलफल गरेका हुन् ।

कुटनीतिक राहदानीको माग सांसदहरुले गरिरहेका बेला त्यसको दुरुपयोग हुन नदिने विषयमा केन्द्रित भएर छलफल गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्वु ओलीले जानकारी दिइन् ।

विगतमा सांसदहरुले नै कुटनीतिक राहदानी दुरुपयोग गरेको हुनाले त्यसो हुन नदिने विषयमा विमर्श सुरु गरिएको र अर्को बैठकमा त्यसबारे आवश्यक निर्णय लिने सहमती गरिएको पनि उनले बताइन् ।

विशेष काममा मात्रै सो राहदानी उपलब्ध गराइने कानूनी व्यवस्था भएकाले सोही अनुसार यसको उपयोग गर्नुपर्नेमा पनि राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुले धारणा सो अवसरमा राखेका थिए ।
प्रमुख सचेतक ओलीले भनिन्,‘विभिन्न प्रतिनिधिसभा सदस्यहरुले कुटनीतिक राहदानीको माग आइरहेका बेला त्यसलाई कसरी अगाडि बढाउने भनेर हामी सबै पार्टीका सचेतक, प्रमुख सचेतक सभामुखले बोलाउनुभएको थियो । यसमा राहदानी ऐन, २०७६ ले र नियमावलीअनुसार विशेष सरकारी कार्यक्रमहरुमा वा विशेष काममा जाँदा तोकेका पदाधिकारीहरुले मात्रै पाउने कुरा रहेछ । तर धेरै माननीयहरु विभिन्न कारणले विदेशमा जानुपर्ने भएकाले अहिलेको ऐन र नियम अनुसार अहिलेको नियम र ऐन र नियमावलीमा चाहीँ त्यो दिन नमिल्ने भएकाले आगामी दिनमा माननीयजीहरुलाई कसरी सहजीकरण गर्ने भनेर राय सल्लाह विभिन्न दलका तर्फबाट लिनका लागि बोलाउनु भएको हो । किनभने कुनैपनि प्रतिनिधि सभा सदस्य विदेश जाँदाखेरी उसले देशको नै रिप्रिजेन्ट गरेर जाने हो । राष्ट्रको गरिमामा पनि आँच नआओस, ऐन, नियम र कानून भन्दा बाहिर गएर काम नहोस भनेर त्यसलाई कसरी परिमार्जित गर्ने भनेर यही विषयमा छलफल भएको हो । हामी सबै सचेतक प्रमुख सचेतकहरुले आ आफनो दलमा छलफल गरेर फेरि अर्कों बैठक बस्ने कुरा भयो । यसमा परराष्ट्रका अधिकारीहरुले पनि हामीलाई कानूनी व्यवस्थाको बारेमा बताउनु भएको छ । यसैको आधारमा फेरि अर्को बैठक बस्नेछ । केही सांसदहरुले केही एप्लीकेशनहरु आएको भएर सांसद भएपछि अव विदेशबाट निम्तो पनि आउँछ । पहिलाको अभ्यास हेर्दा सजिलै पाउने अवस्था थियो । पहिला कानूनमा किन पालना भएन त भन्ने विषयमा पनि विचार विमर्श भयो । राहदानीका लागि निवेदन आएको हुनाले यसलाई बहसमा नै लगेर विचार विमर्श गरौ भन्ने भएको छ । विगतमा पासपोर्ट दुरुपयोग पनि भएका छन । त्यो नहोस भनेर सबैभन्दा इम्पोटेन्ट त कानून हो । त्यही कानून हालका लागि पालना गरौ भन्ने हो ।’

छलफलमा परराष्ट्र मन्त्रालयका अधिकारीहरुले कुटनीतिक राहदानीको प्रयोग सम्बन्धि विद्यमान कानून व्यवस्था बारे व्रिफिङ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?