काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टीमकी पूर्वकप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले सामाजिक सञ्जालमार्फत ‘नेपाली फुटबलमा खेल भन्दा राजनीतिक हस्तक्षेप र प्रशासनिक विवाद बढी हुने गरेको’ आरोप लगाएकी छन् ।
नेपाली राष्ट्रिय महिला फुटबल टीमकी गोलकिपर रहेकी एञ्जिलाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा)बीचको आन्तरिक कलहले यो समस्या आएको आरोप लगाएकी हुन् । उनले साफ वुमन्स च्याम्पियनसिप खेल्नबाट वञ्चित भएको स्मरण गराउँदै ‘खेलाडीको नाताले मन साह्रै रुने’ प्रतिक्रियासमेत दिएकी छन् ।
उनले लेखेकी छिन्, ‘नेपाली फुटबल अहिले एउटा यस्तो दोबाटोमा उभिएको छ, जहाँ खेल भन्दा बढी राजनीति र प्रशासनिक विवाद हाबी भइरहेको छ । यो देख्दा एउटा खेलाडीको नाताले मन साह्रै रुन्छ ।’
उनले सरकार र एन्फा प्रशासनिक दाउपेचको रणभूमि नभई खेलकुद जोड्ने माध्यम बन्नुपर्ने पनि बताएकी छिन् । उनले दुवै पक्षलाई तुरुन्तै आपसी सहमति खोज्न पनि आग्रह गरेकी छिन् ।
उनले साफ वुमन्स च्याम्पियनसिप खेल्नबाट वञ्चित भएको प्रसंग निकाल्दै भनेकी छिन्, ‘हाम्रो मेहनत गोवाको मैदानमा देखिनुपर्छ, बन्द कोठाको विवादमा हराउनु हुँदैन ।
‘हाम्रा खेलाडीका सपनाहरूलाई प्रशासनिक पक्षाघातको सिकार नबनाउनुहोस् । हाम्रो भविष्य ‘जोखिम’ मा होइन, तपाईंहरूको ‘प्राथमिकता’मा हुनुपर्छ ।’
राखेप र एन्फाबीचको विवादले अप्रिल १२ र १५ मा हुने फिफा सिरिज नेपाली महिला टोलीले गुमाइसकेको छ । यति मात्रै नभई राष्ट्रिय महिला तथा पुरुष लिग बीचैमा स्थगित भएको छ भने ए डिभिजन लिग सञ्चालन हुन नसकेको पनि तीन वर्ष हुन लागेको छ ।
विवादकै कारण नेपाल र हङकङबीच मार्च २६ मा काठमाडौंमा तय भएको मैत्रीपूर्ण खेलसमेत रद्द हुन पुगेको थियो ।
एञ्जिलाको स्टाटस जस्ताको तस्तैः
नेपाली फुटबल अहिले एउटा यस्तो दोबाटोमा उभिएको छ, जहाँ खेल भन्दा बढी राजनीति र प्रशासनिक विवाद हावी भइरहेको छ। यो देख्दा एउटा खेलाडीको नाताले मन साह्रै रुन्छ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) र एन्फा (ANFA) बीचको आन्तरिक कलहले गर्दा आगामी SAFF Women’s Championship 2026 मा हाम्रो सहभागिता नै संकटमा पर्नु भनेको खेलकुदकै उपहास हो। यी “प्रशासनिक रोक” र “समयसीमाको उल्लङ्घन” केवल कागजका कुरा होइनन्—यसको पछाडि हजारौँ खेलाडीहरूको पसिना, सपना र देशका लागि केही गर्ने वर्षौँको मेहनत लुकेको हुन्छ।
जब संस्थाहरू चल्न छोड्छन्, तब एउटा खेलाडीको भविष्यमा अन्धकार छाउँछ। हामी देशको गर्वका लागि खेल्छौँ, तर प्रशिक्षण क्याम्प, प्राविधिक तयारी र स्पष्ट कार्ययोजना बिना हामी मैदानमा कसरी उत्रिने?
नेपाल सरकार र एन्फालाई विनम्र अनुरोध :
खेलकुद जोड्ने माध्यम बन्नुपर्छ, प्रशासनिक दाउपेचको रणभूमि होइन। दुवै पक्षलाई तुरुन्तै आपसी सहमति खोज्न म हार्दिक आग्रह गर्दछु। खेलाडीलाई खेल्ने वातावरण दिनुहोस्। हाम्रो मेहनत गोवाको मैदानमा देखिनुपर्छ, बन्द कोठाको विवादमा हराउनु हुँदैन।
हाम्रा खेलाडीका सपनाहरूलाई प्रशासनिक पक्षाघातको सिकार नबनाउनुहोस्। हाम्रो भविष्य “जोखिम” मा होइन, तपाईंहरूको “प्राथमिकता” मा हुनुपर्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया