काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षणबिना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ ।
काउन्सिलका रजिष्ट्रार डा.शतिशकुमार देवले टिकटक, इन्स्टाग्राम र फेसबुकजस्ता सामाजिक सञ्जाल प्रयोग गरी परीक्षण नगरी औषधि सिफारिस गर्ने कार्य तुरुन्त बन्द गर्न आग्रह गरेका हुन् । साथै, ‘अनलाइन परामर्श’का नाममा स्वास्थ्यसम्बन्धी श्रव्यदृश्य सामग्री प्रसारण नगर्न समेत निर्देशन दिइएको छ ।
काउन्सिलले चिकित्सकलाई बिरामीसँग सम्बन्धित सामग्री सार्वजनिक गर्ने, विभिन्न उपचारका लागि औषधि प्रयोग गर्न सुझाव दिने तथा सामाजिक सञ्जालमार्फत औषधि सिफारिस गर्ने कार्य नगर्न स्पष्ट रूपमा आग्रह गरेको छ ।
काउन्सिलका अनुसार सामाजिक सञ्जालमा देखिने गैरजिम्मेवार र अवैज्ञानिक सूचना तथा सल्लाहले सर्वसाधारणलाई भ्रममा पार्ने र गलत औषधि प्रयोगका कारण स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने जोखिम उच्च हुन्छ ।
रजिष्ट्रार डा.देवले स्वास्थ्य सेवा अत्यन्त संवेदनशील क्षेत्र भएकाले बिरामीको प्रत्यक्ष परीक्षण, आवश्यक जाँच र चिकित्सकीय मूल्याङ्कन बिना औषधि सेवनको सल्लाह दिनु खतरनाक हुन सक्ने बताए । यस्ता कार्यले दीर्घकालीन स्वास्थ्य समस्या र जटिलता बढाउन सक्ने उनको भनाइ छ ।
काउन्सिलले बिरामीलाई पनि सामाजिक सञ्जालमा देखिएका अप्रमाणित सल्लाहका आधारमा औषधि प्रयोग नगरी योग्य र दर्ता प्राप्त चिकित्सकसँग मात्र परामर्श लिन अनुरोध गरेको छ । साथै, बिरामीसँग सम्बन्धित श्रव्यदृश्य सामग्री सार्वजनिक नगर्न र आवश्यक परे पनि बिरामीको अनुहार तथा पहिचान गोप्य राख्न आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया