सम्पदा र संस्कृतिको संरक्षणमा लगानी बढाउनुपर्नेमा पर्यटन मन्त्री श्रेष्ठको जोड

लोकपथ
49
Shares

काठमाडौं । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले नयाँ मठमन्दिर निर्माणमा भन्दा विद्यमान सम्पदा र संस्कृतिको संरक्षणमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । 

शनिबार काठमाडौंमा आयोजित ‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन समृद्धिको आधार’विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । 

चालु आर्थिक वर्ष २०८२र८३ को बजेटमा मठमन्दिर निर्माणमा प्राथमिकता दिएको भए पनि मौलिक सम्पदाको संरक्षणमा लगानी न्यून रहेको उनको भनाइ छ । 

उनले भएका सम्पदाको संरक्षणलाई प्राथमिकता दिन सके मात्रै सांस्कृतिक धरोहर जोगाउन सकिने बताए । 

उनले संस्कृति र सम्पदा संरक्षणप्रति नवयुवा पुस्तामा चासो नहुनु चिन्ताको विषय भएको बताए । उनले सांस्कृति पर्व एवं सम्पदाको महत्वबारे आउने पुस्तालाई बुझाउन आवश्यक रहेको पनि बताए । 

उनले भने, ‘अहिले आर्थिक वर्ष २०८२र८३ को बजेट हेर्दा हामीले धेरै मठमन्दिरहरु बनाइरहेका छौँ । तर हामीसँग भएका सम्पदाहरुको संरक्षणमा कम लगानी भएको मलाई चाहिँ महसुस भएको छ । हामीले बनाउनेभन्दा पनि भएको कुरालाई संरक्षण गर्न सक्यौँ भने राम्रो हुन्छ । काठमाडौं उपत्यकाको ठाउँ ठाउँमा हामीसँग सम्पदा छन् । सम्पदा छन् तर हामीलाई ती सम्पदाको महत्त्व बुझिसकेका छैनौँ । अर्को कुरा यी सम्पदाहरुको संरक्षण गर्न सक्छौँ कि सक्दैनौँ भनेर मलाई चाहिँ एकदमै चिन्ता लागेको छ । हाम्रो पुस्ताले संस्कृति र सम्पदाको संरक्षण गर्न लागि परेका छौँ । तर हामी पछाडिको पुस्ताले त्यसमा ध्यान दिने हो कि नदिने हो । यो एकदमै चिन्ताको विषय बनिरहेको छ । अहिले काठमाडौं उपत्यकामा हुने विभिन्न जात्राहरुमा समेत नयाँ पुस्ताको उपस्थिति एकदमै कम देखिन्छ । रथ जात्राहरू हुन्छन् । हामले रथ तान्ने कुरामा युवापुस्तालाई प्रेरित गर्न सकेनौँ भने हाम्रो सम्पदा र संस्कृति जोगिन्छ त ?’

उनले काठमाडौं उपत्यकामा सञ्चालन हुने विभिन्न जात्रा तथा रथयात्रामा युवापुस्ताको सहभागिता घट्दै गएको उल्लेख गर्दै यसले सम्पदा संरक्षणमा चुनौती बढ्दै गएको समेत बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?