लागत बढेपछि पानी उद्योग संकटमा, मूल्य बढाउने निर्णय

लोकपथ
91
Shares

काठमाडौं । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय गरेको छ ।

कच्चा पदार्थ र ढुवानी खर्च महँगिँदा पुरानै मूल्यमा उद्योग चलाउन गाह्रो भएको भन्दै यस्तो निर्णय गरिएको हो ।

महासंघले शनिबार जारी गरेको विज्ञप्तिअनुसार पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्‍यापिङ रोल, जार र जार क्यापजस्ता सामग्रीको मूल्य करिब ४० प्रतिशतसम्म बढेको छ । साथै पेट्रोलियम पदार्थ महँगिँदा ढुवानी खर्च पनि बढेको जनाएको छ ।

अन्तर्राष्ट्रिय अवस्था, विशेषगरी इरान–इजरायल र इरान–अमेरिका बीचको तनावका कारण विश्व बजार र आपूर्ति प्रणालीमा असर परेको र त्यसको प्रभाव नेपालका पानी उद्योगमा परेको महासंघले बताएको छ ।

महासंघले मूल्यवृद्धि नाफाका लागि नभई बढेको लागतका कारण बाध्य भएर गरिएको स्पष्ट पारेको छ । गुणस्तर कायम राख्न र नियमित आपूर्ति गर्न मूल्य समायोजन आवश्यक भएको उल्लेख गरिएको छ ।

महासंघले सरकारसँग कच्चा पदार्थ सहज रूपमा उपलब्ध गराउने, ढुवानी खर्च नियन्त्रण गर्ने र उद्योग सञ्चालनलाई सहज बनाउने कदम चाल्न माग गरेको छ ।

महासचिव ध्रुव प्रसाद अधिकारीले उपभोक्ता, वितरक र सम्बन्धित सबै पक्षलाई अवस्था बुझेर सहयोग गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?