काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले निर्वाचनबाट कमजोर अवस्थामा रहेका कारण पहिले आफूहरु आफैँभित्र तङ्ग्रिनुपर्ने बताएका छन् ।
केही दिनदेखि सामाजिक सञ्जालदेखि आम मिडियासम्म वाम एकताको चर्चा चलिरहेको छ । त्यसो त हालै अस्पतालमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका छन् । ओलीलाई स्वास्थ्य लाभको कामना गर्ने बाहनामा वामपन्थी एकताका कुराहरु समेत उठेको प्रशंग बाहिरिएपछि पूर्वमन्त्री समेत रहेका नेता ज्ञवालीले प्रतिक्रिया जनाएका हुन् ।
‘यतिबेला वामपन्थीहरूसहित सबै पार्टीहरू समीक्षाको प्रक्रियामा छन् । धक्का एमालेले पनि खाएको छ, दर्जन बढी समूह ‘एकीकृत’ गरेर बनेको नेकपाले पनि । ‘विद्रोह’ गरेर बनेका संयुक्त या प्रलोपाहरूले पनि । समस्या एउटै छैन र समाधानको रेसिपी पनि एउटै हुन सक्दैन । यस्तो अवस्थामा पहिलो कदम भनेकै सङ्कटको गांभीर्यबोध, निर्मम आत्मसमीक्षा र व्यापक सुधाररपुनर्गठनको विधिवत् प्रक्रिया अगाडि बढाउनु हो । पहिले आफू तङ्ग्रिएपछि मात्रै सार्थक विमर्श र विषयगत सहकार्यको अर्थ हुन सक्छ । अन्यथा यस्ता छलफल या त बौद्धिक विलासितामा सीमित हुन्छन्, या आफ्नो घरभित्रका समस्या छिमेकतिर सारिदिने दाउपेचमा रूपान्तरित हुन जान्छन् । अहिलेको खाँचो आफैभित्र नियाल्ने, मन्थन गर्ने र सुधार गर्ने हो,’ उनले भनेका छन् ।
नेता ज्ञवालीले अहिले सार्वजनिक सञ्चारमाध्यममा वामपन्थी एकताको चर्चा चले पनि अहिलेको चुनौती फरक विषयमा रहेको बताए । उनले अहिलेको अवस्थामा प्रगतीशील लोकतान्त्रिक स्पेस साँघुरिँदै गएको भन्दै सर्वसत्तावादी शासकीय शैली उन्मुख हुँदै गएको बताए । साथै उनले ठाउँमा ‘तिलस्मी नायक’ हरूले जादुमयी ढङ्गले सुनौला दिन ल्याइदिने विभ्रमले समाजको ठुलै हिस्सा प्रभावित भएको समयमा रहेको भन्दै सरकारको आलोचना गरेका छन् ।
‘कुनै संस्थागत निर्णय भएको थाहा छैन, तर मिडियातिर ‘वामपन्थी एकता’ को चर्चा सुरू भएछ । पहिलो त, आजको चुनौती वामपन्थी या कम्युनिस्ट आन्दोलनको दायरामा मात्र सीमित छैन । नेपालले लामो प्रयत्न पश्चात् आर्जेको प्रगतिशील लोकतान्त्रिक स्पेस नै साँघुरिँदै गएर सर्वसत्तावादी शासकीय शैलीतिर उन्मुख हुँदै गरेको, सामाजिक सुरक्षा र न्यायसहितको लोककल्याणकारी आर्थिक प्रणाली होइन, नवउदारवादी बजार स्वच्छन्दतातिर आर्थिक दिशा सोझिँदै गरेको र स्थापित विधि, कानुनी प्रणाली र लोकतान्त्रिक संस्थाहरूको ठाउँमा ‘तिलस्मी नायक’ हरूले जादुमयी ढङ्गले सुनौला दिन ल्याइदिने विभ्रमले समाजको ठुलै हिस्सा प्रभावित भएको समयमा हामी छौँ । त्यसैले सङ्कटलाई फराकिलो क्यानभासमा राखेर हेरिनु पर्छ र तदनुरूपकै नीति अवलम्बन गरिनु पर्छ,’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया