काठमाडौं । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नेपालको भौगोलिक अवस्था र मौसमी चुनौतीका कारण विपद् व्यवस्थापनमा चुस्त र स्मार्ट कार्यप्रणाली अहिलेको मुख्य आवश्यकता भएको बताएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयको २२औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सीमित स्रोतसाधन भएको देशका लागि पूर्वतयारीमा ठूलो लगानी सम्भव नहुने यथार्थ स्वीकार गर्दै उद्धार र राहतमा व्यवस्थापकीय चुस्तता नै प्रभावकारी विकल्प हुने बताए ।
उनले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बलले पुर्याएको योगदानको प्रशंसा गर्दै सुरक्षाकर्मीहरूको कार्यलाई ‘उत्कृष्ट र स्मार्ट’ को संज्ञा दिए । विपद्का बेला आम नागरिकको अपेक्षा उच्च हुने भए पनि स्रोतसाधनको अभावबीच काम गर्नुपर्ने बाध्यता रहेको उनले उल्लेख गरे ।
‘वर्षा होस् वा हिउँद, हिमालदेखि तराईसम्म नेपाल प्रकोपको दृष्टिले अत्यन्त संवेदनशील छ । यस्तो लाग्छ, प्रकोप नेपालको डीएनएमा छ, ‘उनले भने, ‘देशका विभिन्न स्थानमा खटिनुहुने सशस्त्र प्रहरीका साथीहरूले जुन उत्साहका साथ काम गर्नुभएको छ, त्यो साँच्चै प्रशंसनीय छ ।’
कार्यक्रममा उनले शिक्षालयलाई आगामी दिनमा अझ परिष्कृत र सुविधा सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै यसलाई साधन–स्रोत र जनशक्तिले युक्त बनाइ विपद् व्यवस्थापनको ‘सेन्टर अफ एक्सिलेन्स’ र ‘स्मार्ट अर्गनाइजेसन’का रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया