सञ्चारमन्त्रीले गरे सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, भने– ‘अब २४ घण्टाभित्रै लाइसेन्स छापिन्छ’

लोकपथ
35
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाले काभ्रेको पनौती–५ स्थित सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गरेका छन् ।

निरीक्षणको क्रममा उनले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम छिटो गर्न निर्देशन दिएका हुन् ।

मन्त्री तिमिल्सिनाले ट्रायल पास गरी राजस्व तिरेपछि अब २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागू गरिएको जानकारी दिए । यसअघि ढिलाइ हुँदै आएको सेवा अब छिटो र प्रभावकारी बनाइने उनले बताए ।

उनले लामो समयदेखि लाइसेन्स नपाउने समस्या अन्त्य भएको दाबी गर्दै अब नागरिकले छिटो सेवा पाउने बताएका छन् ।

केन्द्रमा करिब एक अर्ब रुपैयाँ बराबरका उपकरण प्रयोगविहीन रहेको उल्लेख गर्दै उनले ती उपकरणलाई अब प्रभावकारी रूपमा प्रयोग गरिने बताए । उनले नागरिकको डाटा सुरक्षालाई प्राथमिकतामा राख्न पनि निर्देशन दिएका छन् ।

कार्यकारी निर्देशक देवराज ढुंगानाका अनुसार केन्द्रबाट भविष्यमा राहदानी, चेकबुक, स्मार्टकार्ड, हुलाक टिकट र अन्तःशुल्क स्टिकरसमेत छाप्ने योजना छ ।

हाल दैनिक करिब ४० हजार लाइसेन्स छापिँदै आएको र विदेश जाने नागरिकलाई प्राथमिकतामा राखिएको छ । वैशाख १२ गतेभित्र १२ लाख लाइसेन्स छाप्ने र असार मसान्तसम्म बाँकी १७ लाख लाइसेन्स छाप्ने लक्ष्य रहेको केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?